जसपाका अध्यक्ष महन्थ पक्षले माग्यो उपेन्द्र पक्षका दुई सांसदलाई २४ घण्टे स्पष्टीकरण

दिपेश राज नेपाल
बुटवल :जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले लुम्बिनी प्रदेश सभाका आफ्ना दुई सांसदलाई २४ घण्टाको अल्टिमेटम दिंदै स्पष्टीकरण मागेको छ ।

पार्टीको निर्देशन विपरीत लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान नगरेको आरोपमा ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षका प्रदेश सांसद सहश्रराम यादव र पुर्मती ढेंगा मगरलाई स्पष्टीकरण मागेको हो ।

यसअघि पाँच दिनको म्याद दिएर स्पष्टीकरण मागेको ठाकुर पक्षले पुनः अहिले २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको हो ।

अब २४ घण्टाभित्र स्पष्टीकरण नदिएमा पार्टीको विधानअनुसार कारबाही गरिने ठाकुर पक्षले चेतावनी दिएको छ ।

लुम्बिनी प्रदेश सभामा जसपाका ६ सांसद छन् । जसमध्ये मन्त्री समेत रहेका कल्पना पाण्डे, सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझी ठाकुर पक्षका हुन् । अर्का अध्यक्ष यादवको पक्षले पनि ठाकुर पक्षका ती मन्त्रीलाई स्पष्टीकरण मागेको छ ।

लुम्बिनी प्रदेशमा नेकपा एमालेका ओली पक्षीय नेता शंकर पोखरेलको नेतृत्वमा सरकार छ । यता ओलीकै नेतृत्वमा रहेको संघीय सरकारमा पनि ठाकुर पक्ष सहभागी भएको छ । जसपाकै यादव पक्ष भने ओली सरकारविरुद्ध विपक्षी गठबन्धनमा आबद्ध छन।