बाँकेमा १८ घण्टामा थप १५ जनाको मृत्यु

बाँके : बाँके जिल्लामा थप १५ जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको भेरी अस्पतालमा ८ जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ७ जना गरि कुल १५ जनाले संक्रमणका कारण ज्यान गुमाएको अस्पतालहरुले जनाएका छन् ।
हिजो दिउसो १ बजेदेखि आज बिहान ६ः३० बजेसम्म (१८ घण्टाको अवधिमा) उनिहरुको मृत्यु भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार मृत्यु हुनेहरुमा स्वर्गद्वारी नगरपालिका–५ प्युठानका ४० वर्षीय पुरुष, घोराही उपमहानगरपालिका–५ दाङका ३५ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१० का ७१ वर्षीय पुरुष, कालिमाटी गाउँपालिका–२ सल्यानका ३४ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका–१० कैलालीका ४० वर्षीया महिला, गुलरिया नगरपालिका–६ बर्दियाका ५५ वर्षीया महिला रहेका छन् ।
त्यस्तै नेपालगञ्ज उपमहानगरपालिका–१३ बाँकेका ६३ वर्षीया महिला, खजुरा गाउँपालिका–७ बाँकेका ४८ वषीय पुरुष, लम्कीचुहा नगरपालिका–३ कैलालीका ६७ वर्षीय पुरुष, राप्तिसोनारी गाउँपालिका–३ बाँकेका ३३ वर्षीय पुरुष, खजुरा गाउँपालिका–३ का ६७ वर्षीय पुरुषको पनि कोभिड संक्रमणकै कारण उपचारका क्रममा निधन भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार कपुरकोट गाउँपालिका–४ सल्यानका ४४ वर्षीय पुरुष, राप्तिसोनारी गाउँपालिका–८ बाँकेका ५५ वर्षीया महिला, बैजनाथ गाउँपालिका–६ बाँकेका २५ वर्षीय पुरुष र बैजनाथ–४ का ४३ वर्षीया महिलाको समेत संक्रमणकै कारण मृत्यु भएको छ ।
योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २२२ जना र जिल्लाकै २६७ जनाको हालसम्म मृत्यु भईसकेको छ । गएको १८ घण्टामा ज्यान गुमाएका १५ जना मध्य बाँकेका ८ जना र अन्य जिल्लाका ७ जना छन् ।
बाँकेमा संक्रमण पुष्टि हुनेहरुको संख्यामा कमि आएपनि मृत्युदरमा भने कमि आएको छैन । अहिले संक्रमण पुष्टि हुनेहरु र संक्रमणका कारण मृत्यु भैरहेकाहरु पनि जिल्ला बाहिरका बढी छन् ।