तेह्रथुमको आठराईमा आम्दानीको स्रोत बन्दै नाङ्लो ,डालो

सुमन आचार्य
तेह्रथुम :तेह्रथुमको आठराई खाम्लालुङका स्थानीयले बाँसको च‍ोयाबाट नाङलो र डालो बुनेर मनग्ये आम्दानी गर्दै आएका छन् ।
पुख्र्यौली पेशा नै बनेको यो व्यवसाय उनीहरुको नाङलो र डालो आम्दानीको स्रोत बनेको हो । सयभन्दा बढी घरधुरीमा परम्परागत किसिमको नाङलो, डालो, थुन्से, मान्द्रो र चाल्नी बुनेर घरखर्च धान्दै आएको स्थानीय मनिसा लिम्बुले बताइन ।

खोलाखोल्सी र जंगलमा उपलब्ध हुने बाँस र मालिङ्गोको चोयाबाट बनाइएको नाङ्लो, डालो लगायतका सामग्री बनेर आएको आम्दानीबाटै जिविकोपार्जन र छोराछोरीको पढाइका साथै घरखर्च गर्ने गरेको लिम्बुको भनाइ छ । यहाँ बनेको नाङ्लो डालो ३ सय ५० रूपैयाँ देखि ७ सय रूपैयाँ सम्ममा स्थानीय संक्रान्तिबजार मै बिक्री हुन्छ ।

जिल्ला बाहिरका व्यापारीहरूले स्थानीयको घरैबाट नाङ्लो डालो खरिद गर्ने गरेका छन् । खाम्लालुङको नाङ्लो डालो पाँचथर, झापा, विराटनगर, धरान, काठमाडौ लगायतका प्रमुख शहर र बजारसम्म पुग्ने स्थानीय कृतिमान लिम्बूले बताइन । नाङ्लो र डालो बेचेर मासिक ३५ हजारसम्म आम्दानी हुने लिम्बूको भनाइ छ ।

घरमै बसेर बसिबियालोसँगै आयआर्जन गर्ने गरेको नाङलो डालो बुन्ने चलन ब्यवसायिक बन्दै गएपनि उद्योगकै रुपमा भने सञ्चालनमा आएको छैन । घाम, पानी र झरी परेको समयमा पनि घरभित्रैबसेर काम गर्न सकिने भएकाले अन्य ब्यवसायको तुलनामा सजिलो पेसा भएपनि पछिल्लो युवापुस्ता सम्म यो सीप पुगेको छैन ।