कविता-‘तालबाट केही सिक’ : सौरभ नूतन

ए मान्छेहरु हो!
गएर तालमा हेर,
जो-जो आउँछ उसको अघि
टपक्क टिपी दिलमा राख्छ

उसको दिल पनि
हो तिमीहरुको जस्तै सानो छ
तर, जीवनमा आउने जति सबैलाई
प्रिय ठानी उसले दिलमा अटाउँछ
मायाप्रेम गर्दै सजाउँछ

न उसले कहिले बादलको जात सोध्छ
सोध्छ न कहिले पहाडहरुको धर्म
हिमालहरुको राष्ट्रियता पनि सोध्दैन
उडिरहेका चराहरु दुश्मन हुन् वा दोस्त सोच्दैन
जो-जो आउँछ उसको अघि
टपक्क टिपी दिलमा राख्छ

ए मान्छेहरु हो!
मूते पनि जतिपटक तिमीहरुले तालको शरीरमा
थुके पनि जतिपटक तिमीहरुले उसको अनुहारमा
तिमीहरुको आगमनको चाल पाउनेबित्तिकै
तिमीहरुलाई उसले दिलमा सजाउँछ

ढुंगा हान्छौ तालमा तिमीहरु
मैले त उसमा फूल फ्याँक‌्ने गरेको छु,
तिमीहरुले हानेको कठोर ढुंगा
‘मै राख्छु’ भनी सहन्छ ऊ,
मैले कोमल फूल फ्याँक्दा
बाँडेर लिऊँ भन्दै हातमा बोकी
त्यो फूल मैतिर तेर्साउँछ ऊ

त्यो निलो पारदर्शी आकाश
त्यति दूर छ,
तालको ऊ कोही पनि पर्दैन
तैपनि आफ्नै मान्छे जसरी हृदयमा राख्छ,
एउटा मान्छेहरु छन् यहाँ
जो नजिकका आफन्तलाई पनि बेवास्ता गर्छन्

ए मान्छेहरु हो!
केही सिक्नु छ भने
तालबाट सिक ।