मूर्तिकार र चित्रककला साधनामा रमाएकी ऐश्वर्या

मिठो बाँसुरीको धुन सुनेर कुन मानिसको मन नरमाउला र ? हातमा बाँसुरी र काखमा मादल र मादलको छेवैमा हार्मोनियम देख्ने बित्तिकै दर्शक दीर्घमा हुटिङ्ग सुरु हुन्छ । आज भने कार्यक्रम सुन्दर हुने भयो । यो त भयो कार्यक्रमको कुरा कहिले भने उनको हातमा छिनु र कुची देखिन्छ । कहिले समारोह र कार्यक्रममा ब्यस्त सधैँ मनका भावनालाई असंख्य कलाकारीतामा रंङ्गभर्ने साधक हुन ऐश्वर्या चेम्जुङ राई ।
कलासंग खेल्दा खेल्दै प्रकृतिले उनलाई एउटा असल मूर्तिकार र चित्रकार बनाएरै छोड्यो । प्रकृति र साधनालाई उनले कहिल्यै पछ्याउन छाडिनन् । त्यसैको फल स्वरुप उनी कला साधनाकी कुशल मुर्तीकार र चित्रकार बनेर निस्किन पुगिन् । लगनशील र जागरिलो उनको कर्ममा कतै पनि बादलका धर्साहरु देखा परेनन् । मनमा इच्छासक्ति भएपछि आखिर नहुने केनै रहेछ र ? पूर्णिमाको उज्यालो जुन जस्तै उनको कलाकारीता चारैतिर फुल्न र फैलन थाल्यो ।

धनकुटा जिल्लाको मनोरम बस्ती चौबिसे राजारानीमा२०२५ साल बैशाखको २७ गते जन्मिएकी ऐश्वर्याको बाल्य जीवन गाउँ पाखा उकाली ओराली गर्दै बित्यो । श्री पुण्य मा०बि राजारानीबाट प्रारम्भिक शिक्षा आर्जन गरेकी उनले सोही जिल्लाको मौनवुदुक र गोकुण्डेश्वर बाट स्कुले जीवन पार गरिन् । ब्यबाहारिक परिस्थिति र परिवेशले गर्दा उनको उच्च शिक्षा अगाडि बढ्न सकेन । जीवन साथी देबकुमार राई सँग बिवाह बन्धनमा बाँधिए पछि मोरङ्ग जिल्लाको बोरावनलाई उनले कर्मथलो बनाउँन पुगिन् । कला साधनाबाटनै अगाडि बढ्न चहाने उनको स्वभावलाई गाउँले परिवेशले राम्ररी धान्न सक्दैनथ्यो तसर्थ आफ्नो कलाकारीता र छोरा छोरीको शिक्षादिक्षा अगाडि बढाउँनकै लागि उनी एक छोरा र एक छोरीलाई जन्म दिएपछि आफ्नो परिवार सहित विराटनगर झरिन् । विराटनगर महाँनगर पालिकाको वार्डनं-३ स्थित बुध्दचोक नजिकै अहिले उनको सुन्दर पारिवारिक महल छ ।
अब भने ऐश्वर्यालाई कला साधनामा लागेर अगाडि बढ्न धेरै सहज भयो । उनले श्रीमान् र घर परिवारबाट सहयोग पाउँदै गइन् । आफ्नो मिजासिलो पन र सवैसँग मिल्ने स्वभावले गर्दा ऐश्वर्यालाई कलाकारीताको ऐश्वर्य बर्षाउन कुनै कमी रहेन । साथी भाइको माया ममता र प्रेरणा पाएर उनको कला साधना झन मौलाउन थाल्यो । संङ्गीत र कलामय वाताबरणमा रमाउन पाउँदा उनी असाध्यै खुशी भइन् । श्रीमान् समेत एक छोरो र एक छोरी चारजनाको सुखी परिवारमा चारैजना भित्र अहिले कला मुस्कुराइरहेको छ । ऐश्वर्यका श्रीमान्आफै कथाकार हुनुहुन्छ । अस्ताएको जुन कथासंग्रह वहाको राम्रो कृति मानिन्छ । छोरी पुनम नृत्य अभिनयमा निकै सवल छन् भने छोरो पुष्कलले आमाकै कलाकारीता पछ्याएका छन् । विराटनगर बसाई पछि वहाको कोपीलारुपी कला साधनाले फुल्ने र झाँगिने गतिलो अबसर प्राप्तगरेको छ ।

कुनै औपचारीक शिक्षा विनानै आफ्नै स्रोत र साधनबाट सुन्दर कलाकृति आर्जन गरेकी ऐश्वर्यले मादल,बाँसुरी र हार्मोनियम जस्ता बाद्यबादनमा राम्रो सिप आर्जन गरेकी छन् । उनले पाएका सम्मानपत्र र प्रमाणपत्र कोठाभरि सजिएका छन् । आफूले जानेको सिप कला र सिर्जनालाई सबै स्रोता र दर्शकको सामु प्रस्तुत गर्न पाउँदा उनमा हर्षको सिमा छैन । ढुङ्गालाई खोपेर बिभिन्न देव देवी र महान ब्यक्तिहरुको शिला मुर्ति बनाउन खप्पिस ऐश्वर्य बाँस र बाँस बाट बनाइने बिभिन्न सामाग्रीे समेत तयार पार्छिन । यतिमात्र होइन उनी एउटा कुशल रङ्गकर्मी पनि हुन । उनको घर र कोठा चोटामा सजाइएका सुन्दर चित्र र मुर्तिहरु देखेर कलाका पारखीहरु मन्त्रमुग्ध हुन्छन् र उनको कलाकारीतालाई मुग्धकण्ठले प्रसंशा गर्छन् । महान ब्यक्तिहरु महात्मागान्धी,विश्वेश्वरप्रसाद ,कोइराला,मनमोहन अधिकारी र योगमाया जस्ता ब्यक्तिका तस्वीरलाई शीलामा मुर्ति खोपेर उनले बिभिन्न संघ संस्था तथा मन्दिर लगाएत बिभिन्न ठाउँमा उपहार प्रदान गरेकी छन् । उनको उदार मनलाई हामी सबैले हृदय देखिनै स्वागत गर्नु पर्दछ ।
बिभिन्न संघसंस्थामा आबध्द ऐश्वर्या महिला जनजागरण अभियानमा पनि निकै सक्रिय देखिन्छिन् । उनी अहिले टोल बिकाश संस्थाको अध्यक्ष छन् । त्यसैगरी सहकारी संस्था किराँतसेवा समाज र असहाय पुणस्थापना केन्द्र विराटनगरको सल्लाहाकार सदस्य समेत रहेकी छन् ।
बहु प्रतिभाकी धनी ऐश्वर्याको कला देख्दा लाग्छ, उनी एउटा असल प्रतिभाकी प्रतिमुर्ति हुन् । यस्ता प्रतिभावान ब्यक्तिलाई राज्यबाट राम्रो सहयोग उपलब्ध गराउने हो भने,उनको विराट कला प्रतिभाले आफ्नो रस्ती बस्ती मात्र होइन देश विदेश जताततै सुन्दरता फैलाउन सक्छ । यसको अलावा बेरोजगार ब्यक्तिहरुलाई रोजगारी दिलाउँछ ,साथै बैदेशिक मुद्रा आर्जन गरी देशलाई समृध्दशाली बनाउँछ ।