
बेनी बहादुर बुढा
मुगु :आन्दोलनरत जिल्ला अस्पताल मुगुमा कार्यरत डाक्टर र चिकित्सकहरू लेखा शाखा प्रमुखले आफूहरूलाई धम्कीपूर्ण दुर्व्यवहार गरेको भन्दै इमर्जेन्सी बाहेक अस्पातलका सबै सेवा बन्द गरेका स्वास्थ्यकर्मी काममा फर्केका छन् ।
बिहीबार स्वास्थ्य सेवा कार्यालयका लेखा प्रमुखसँग आफ्ना १५ बुँदे माग राख्दै प्रशासन सम्म पुगेका थिए । आफूहरूमाथि दुर्व्यवहार भएको भन्दै अस्पतालका कुनै पनि सेवा सञ्चालन हुन नदिने चेतावनी दिँदै आन्दोलित स्वास्थ्यकर्मी शनिबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा लेखा अधिकृत सुरेश केसीले जिल्ला स्वास्थ्य कार्यालयमा आफूलाई काम गर्न असहज वातावरण र ज्यानको असुरक्षा भएको भन्दै लिखित निवेदन दिएपछि स्वास्थ्यकर्मी काममा लागेका छन् ।
बिहीबार जिल्ला अस्पातालमा कार्यरत १० जना डाक्टरहरूले हस्ताक्षर गरेको १५ बुँदे मागसहित लेखा प्रमुख सुरेश केसीसँग भेट गरी लेखाले कुनै वास्था नगरेको हुँदा । मागबारे छलफलका लागि समेत डाक्टर र स्वास्थ्यकर्मीहरूले प्रशासनलाई आग्रह गरेका थिए ।
स्वास्थ्यकर्मीका मागहरू निश्चित समयमै मासिक तलब तथा सेवा सुविधा पाउनुपर्ने, सूचना तथा समाचारका लागि टेलिभिजन, मासिक रुपमा जम्मा गरिने नागरिक लगानी कोषको रकम हिनामिना गरेको, इन्टर्नसीपको रकम, बिरामीका लागि चाहिने औषधि खरिद गर्दा वा संख्या निर्धारण गर्दा परार्मश नलिइ खरिद गर्ने गरेको, लेखा प्रमुख कार्यालयमा नआई आफ्नो कोठालाई कार्यालयको रुपमा प्रयोग गर्दैआएको, महिला स्वास्थ्यकर्मीमाथि दुव्र्यावहार गर्ने गरेको आफ्नो सुत्ने कोठामा एकएक गरी बोलाउने गरेको अस्पतालका उपकरण तथा अन्य सामग्री उपयोग गर्न नसकेको, महिनौँदेखि अस्पातमा रहेका एक्सरे, ईसीजी यूएसजी पेपरको व्यवस्था नगरेको, अस्पतालको एम्बुलेन्स सञ्चालनमा नल्याएको लगायत विषयमा छलफल गर्न आफूहरू लेखा प्रमुख केसीकहाँ माग सहित पुग्दा कुनै वास्था नगरेको हुँदा आन्दोलनमा पुगेको हौं ।अहिले लेखापालले जिल्ला अस्पतालमा काम नगर्ने गरी आफै जिल्ला प्रशासन कार्यालयमा लिखीत निवेदन दिएपछि आफूहरू काममा फर्केको डा. कविराज पौडेलले बताए ।
