भिजन महिनावारी बहस : पत्रकार रुपा सुनार

महिनावारी अर्थात रजस्वला (नेपालामा प्रचलनमा रहेको शब्दहरू जस्तैः- नछुने हुनु, पर सर्नु, छुइ हुनु इत्यादि)महिलाहरूमा हुने प्राकृतिक प्रकृया हो । जब छोरी मान्छेहरू बाल्यकालबाट किशोराबस्थामा लाग्छन् तब महिनावारी सुरु हुन्छ ।
नेपालामा धर्मिक्, सामाजिक कारणले गर्दा महिनावारिको खासै कुराकानी हुँदैन । पुरुष मात्रै हैन नेपालमा स्वयम महिलाहरू पनि यस बिषयमा खुलेर बोलेको एक्दमै कम पाइन्छ । रजस्वला हुँदा हुने शारिरीक दुखाइ, मानसिक तनाब र हर्मोन परिवर्तनहरू महिलाको स्वास्थ्य सँग सम्बन्धित बिषय हो ।

महिलाहरूको प्रतक्ष्य स्वास्थ्य सँग सम्बन्ध राख्ने यस बिषयमा खुलेर कुरा नहुँदा महिलाहरूले धेरै प्रकारको शारीरिक र मानसिक समस्याहरू भोग्नु परिरहेको छ । आजभोली शहरतिर अलि अलि चर्चा भए पनि बिकट गाउँतिर महिनावारीलाई हेर्ने दृष्टिकोण अझै पुरानै यथावत छ । जसको कारण कतिपय महिलाहरूले ज्यान गुमाउन परेको छ ।

भने धेरैजसोले बिभिन्न रोगहरूको शिकार भएर बाँच्न परेको छ । के हो महिनावारी ? – महिनावारी भनेको प्रजनन प्रक्रियासँग जोडिएको एउटा प्राकृतिक प्रक्रिया हो । जुन १३ देखि १५ वर्ष भित्रमा सुरु हुन्छ । हर्मोन सँग सम्बन्धित हुने हुनाले कसैको चाढो पनि हुनसक्छ । तर यदि १५ वर्ष पुरा हुँदा पनि रजस्वला सुरु भएन भने डाक्टरसँग जचाउन जानु पर्छ । महिनावारी महिलाको जीवन सँग सम्बन्धित भएको कुरा हुनाले यसको बारेमा सबैलाई जानकारी हुनुपर्छ ।

हामीले यस पटक महिनावारी बहसमा पत्रकारिता गर्दै आउनुभएकी रुपा सुनारको अनुभव प्रस्तुत गरेका र्छौ ।

१ परिचय – रुपा सुनार

– पत्रकारिता

२ महिनावारीको पहीलो अनुभव कस्तो थियो ?

– म आठ कक्षा पढ्दा मेरो पहिलो महिनावारी भएको थियो । पहिलो पटक महिनावारी हुँदा म पाँच दिन अरूको घरमा गएर बसे । घरबाट भाइ र बुवाको अनुहार हेर्नु हुँदैन भन्नु हुन्थ्यो तर मैले लुकि लुकि हेर्थे । म त्यति बेला १३ बर्षको थिए मलाई धेरै कुरा त थाह थिएन । तर महिनावारी हुँदा त्यसरी लुक्ने कुरा त्यति ठिक लागेको थिएन । तर मैले म लुक्दिन भनेर जिद्दी गर्दा पनि घरबाट जबर्जस्ति लुक्न पठाए पछि म जान बाध्य भए ।

नियम अनुसार ११ दिन लुक्नु पर्ने भएपनि मलाई गाह्रो भएपछि म ५ दिनमा नै घर फर्किएकी थिए । त्यतिखेर मेरो हजुर आमाले अब केइ नराम्रो हुन्छ भन्दै रिसाएको याद आउँछ । म सँग त्यतिखेर धेरै कुराको ज्ञान नभएको कारण बलियो भएर प्रतिकार गर्न सक्दिँनथे र कता कता हजुर आमाले भनेको कुरा हुने पो हो कि ? भन्ने डर पनि थियो । साथै त्यतिखेर घरमा कसैले मलाई महिनावारी के हो ? किन हुन्छ ? महिनावारी हुँदा कसरी आफ्नो ख्याल गर्ने ? भन्ने विषयमा ज्ञान नदिएको हुँदा मलाई धेरै अफ्ट्यारो भएको थियो । कपडा स्याहार गर्न, प्याड लगाउन नआएर निकै गाह्रो भएको थियो ।

 

३ महिनावारी प्राकृतिक प्रक्रिया हो । तर हाम्रो देशमा धर्म र संस्कृतिसँग जोडेर गरिने व्यबहार कस्तो लाग्छ ? यसलाई परिवर्तन गर्न के गर्नुपर्छ होला ?

– आजको २१औं शताब्दीमा गाउँ, शहर सबैतिर महिनावारी भएको बेला आ-आफ्नै तरिकाले बार्ने चलन छ । विशेषगरि हिन्दु धर्मावलम्बीहरूले महिनावारी भएका नारीलाई महिनावारी भएको अवधिभर अछुत मान्ने कु-संस्कार छ । छाउपडी जस्तो चलनले धेरै बालिका तथा किशोरीहरूको ज्यान लिएको छ । मुलः कारण त धार्मिक अन्धविश्वास र पितृसत्तात्मक समाज नै हो ।

शिक्षाको मात्रै अभावले हुन्थ्यो भने सायद शहरका घरहरूमा महिनवारीलाई नछुने, पर सर्ने, छुइ हुने जस्ता नामहरूले बुझिदैन्थो र धेरै शिक्षाका पहुँचमा हुनेहरूले पनि महिनावारी हुँदा बार्ने थिएनन होला । थुप्रै नर्स , डाक्टर, शिक्षिका अन्य प्रागिक क्षेत्रका महिलाहरूले यसलाई प्राकृतिक प्रक्रियाको रूपमा लिन्थे होला तर त्यस्तो हुन सकेन । कारण हाम्रो देशमा अधिकांश मानिसहरूले धर्मको नाममा कु-संस्कार र अन्धविश्वास हुर्काउदै आएका छन् ।

मेरो अनुभवको कुरा गर्दा जुनदिनबाट म आफुलाई नास्तिक बनाउन तर्फ लागे त्यसपछि मलाई महिनावारी हुँदा भान्सामा जान, मन्दिर जान, महिनावारी का कपडा खुल्ला ठाउँमा सुकाउन समस्या भएन । मुख्य कुरा हाम्रो मानसिकता हो । हाम्रो दिमागबाट धार्मिक अन्धविश्वास पुर्ण रूपमा नहटेसम्म परिवर्तन सम्भव छैन ।

४ महिनावारीको विषयमा नेपालमा भएका बहसहरू कत्तिको प्रभावकारी भएका छन् ?

– छिटपुट बहस भएका छन् । बहस नहुनु भन्दा त भएपछि केहीँ न केहीँ प्रभाव त पर्ने नै भयो । तर जति हुनु पर्ने त्यति भएको छैन ।

५ महिनावारीको बारेमा सम्पूर्ण जनतामाझ जानकारी पुर्याई महिनावारीको समयमा गरिने गल्तिहरूबाट हुँने क्षति जस्तैः- मृत्यु हुने वा डरलाग्दो रोगहरुको शिकार हुने, जस्ता कुराहरुलाई न्यूनीकरण गर्न सरकारले के कस्ता नीति, कार्यक्रमहरू ल्याउनु पर्ला ?

– पछिल्लो समय म चाहिँ मान्दिँन तर मेरो परिवारको मन दुखाउन्न चाहान्न । त्यसैले म आफू नमाने पनि मेरो अभिभावकका सम्मानार्थ आफुले महिनावारी बार्छु भन्नेहरू थुप्रै छन् । ठुला ठुला कलाकार देखि महिला अधिकार कर्मीहरू अभिभावककै आस्थामा गएर रोकिन्छन् । गलत कुरामा भएको आस्था अभिभावक को होस् या जो सुकैको त्यसलाई तोड्न प्रेरित गर्ने खालको कार्यक्रम ल्याउन आवश्यक छ । र सरकारले दुर्गम ठाउँहरूमा महिनावारी भएको बेलामा कसरी आफुलाई सुरक्षित राख्ने भन्ने विषयमा जनचेतनाका कार्यक्रमहरू प्रशस्त गर्नु पर्यो ।

आवश्यक सामग्री निशुल्क वितरण गर्ने । शहरको हकमा गुणस्तरीय स्यानेटरी प्याड सुलभ मुल्यमा उपलब्ध गराउने व्यवस्था सरकारले गर्नुपर्छ । ६ महिनावारीसँग सम्बन्धित विषयको बहस कार्यक्रममा सरकारको भुमिका कस्तो छ ? – सरकारको भुमिका त अवश्यपनि महत्त्वपूर्ण रहन्छ । सरकारले यश सम्बन्धि छिटफुट कार्यक्रम गरेर हुँदैन । दीर्घकालीन योजना नै बनाएर अन्धविश्वास र महिनावारी सँग सम्बन्धित स्वास्थ्य समस्या लाई हटाउन तर्फ लाग्नुपर्छ ।