
फाइल तस्बिर
मनाङ :मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको पिसाङ गाउँका दुई घर बगाएको छ । जिल्लाकै सबैभन्दा ठूलो पुल जोखिममा परेको छ ।
मनाङको चामे गाउँपालिका वडा नं ४ र ५ तथा माथिल्लो मनाङ जोड्ने मर्स्याङ्दी नदीमाथिको पुल जोखिममा परेको त्यहाँका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिएका छन । उनका अनुसार मर्स्याङ्दी नदीमा पानीको बहाव झन् झन् बढ्दै गएको छ भने नदीले कटान क्षेत्र पनि बढाउँदै लगेको छ ।
बाढीले कयौँ खेतीयोग्य जमिनलाई बगरमा परिणत गरिदिएको छ । पहिरोले थुनिएको मर्स्याङ्दी नदी अहिले खुलेको छ । नदीमा पानीको बहाव बढ्दै गएको छ । यसले चामेबजार उच्च जोखिममा परेको छ । जोखिमयुक्त क्षेत्रका स्थानीयबासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ ।
बाढी तथा पहिरोको जोखिमबाट बच्न सुरक्षाका सबै निकायसँग समन्वय गरेर काम भइरहेको छ । मनसुन भित्रिए पछि लगातार परेको वर्षाका कारण मर्स्याङ्दीमा आएको बाढीले आजसम्म आठ वटा झोलुंगे पुल बगाइसकेको छ ।
