युरोकपमा आज तीन खेल हुने


काठमाडौँ : जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज (शनिबार) तीन खेलहरु हुँदैछन् । युरोपको विभिन्न ११ शहरमा आयोजना भइरहेको युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ।

समूह एफ मा रहेको दुई टिमबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । आज फ्रान्स लगातार दोस्रो जीत निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० गोल अन्तरले पराजित गरेको थियो । फ्रान्स ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ।

हंगेरी भने पहिलो जीत निकाल्ने होडमा हुनेछ। पहिलो खेलमा हंगेरी पोर्चुगलसँग ३–० ले पराजित भएको थियो । अंकविहीन हंगेरी समूहको पुछारमा रहेको छ।

यस्तै आजको दोस्रो खेलमा साविक विजेता पोर्चुगल र जर्मनी भिड्ने छन्। दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ। समूह एफ मा रहेको पोर्चुगल लगातार दोस्रो जीत निकाल्दै नकआउट चरणमा पुग्ने योजनामा रहनेछ । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो । पोर्चुगल ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ।

जर्मनी भने पहिलो जीतको खोजीमा हुनेछ । पहिलो खेलमा फ्रान्ससँग १–० ले पराजित जर्मनीका लागि यो खेल महत्वपूर्ण रहेको छ । नकआउट चरणको सम्भावना कायम राख्न जर्मनीलाई जीत आवश्यक छ । जर्मनी समूहको तेस्रो स्थानमा रहेको छ।

त्यस्तै आज हुने तेस्रो खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। स्पेन र पोल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । समूह ई को स्पेन पहिलो जीत निकाल्ने योजनामा रहेको छ । स्पेन १ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा स्पेनले स्वीडेनसँग गोलरहित बराबरी खेलेको थियो । पोल्याण्ड भने पहिलो जीतसहित मैदान उत्रने छ। अंक विहीन पोल्याण्ड पुछारमा रहेको छ । पहिलो खेलमा पोल्याण्ड स्लोभाकियासँग २–१ ले पराजित भएको थियो।