
पछिल्लो समय नेपालीहरुले अत्यन्त मन पराएका मासुका परिकारहरु हुन् ,कालिज र बट्टाइको मासुका परिकार ,आज हामी यहाहरुलाई कालिज र बट्टाइको मासुको सुप बनाउने तरिका याहा प्रस्तुत गर्दै छौ ।
बट्टाईको सुप
सामग्री : बट्टाईको मासु, प्याज, तेल, नुन, बेसार, जिरा, धनियाँ, खुर्सानीको पेस्ट, अदुवा लसुनको पेस्ट, गरम मसला एवं हरियो धनियाँ ।
बनाउने विधि
बट्टाईको मासुलाई राम्रोसँग पखालेर एउटा भाँडोमा राख्ने । भाँडोमा थोरै तेल तताउने । तातेको तेलमा मसिनोगरी काटेको प्याजलाई राम्ररी भुट्ने । प्याज हल्का खैरो भएपछि त्यसमा मासु राखेर भुट्ने । अब त्यसमा नुन, बेसार, गरम मसला हाली पिसेको जिरा, धनियाँ, हरियो खुर्सानीको पेस्ट राखेर केही बेर भुट्ने ।
मसला पाकेपछि अदुवा–लसुनको पेस्ट पनि राखेर केही समय छोपेर पकाउने । पाकिसकेपछि पानी राखेर केही बेर उमाल्ने । माथिबाट हरियो धनियाँका पात छर्कने ।
कालिजको सुप
सामग्री : कालिजको मासु, मसिनो गरी काटेको प्याज, तेल, नुन, बेसार, जिरा, धनियाँ, खुर्सानी, अदुवा, लसुनको पेस्ट, गरम मसला एवं हरियो धनियाँ ।
बनाउने विधि : एउटा भाँडामा तेल तताउने (तेल धेरै राख्नुहुँदैन, चिल्लो बढी भयो भने सुपको स्वाद विग्रन्छ) । तेल तातेपछि प्याजलाई हल्का खैरो हुन्जेल भुट्ने । आफ्नो रुचिअनुसार ज्वानो, मेथी वा जिराका दाना फुराउन पनि सकिन्छ । त्यसपछि कालिजको मासुलाई एकछिन भुट्ने । मासु भुट्दै जाँदा केही मात्रामा फुल्दै जान्छ । नुन, बेसार, गरम मसला, पिसेको जिरा, धनियाँ एवं खुर्सानीको पेस्ट राखेर केही बेर भुटी सानो आँचमा छोपेर राख्ने ।
सबै मसला पाकेपछि अदुवा–लसुनको पेस्ट राखेर फेरि त्यसैगरी भुटेर पकाउने । त्यसपछि आवश्यकतानुसार पानी राखेर केही समय छोपेर मज्जाले उमाल्ने । केही बेर उम्लिएपछि त्यसमा हरियो धनियाँका पात राखेर छोप्ने । त्यसपछि कालिजको सुप खानका लागि तयार हुन्छ ।
प्रस्तुति : गीता रेग्मी
नेपालगञ्ज
