भिजनसँगको शनिबारमा :नेपालमा लकडाउनमा शिक्षा , अनलाइन पढाइको प्रभावकारिता

सन् २०२० मा विश्व प्रथम चरणको कोभिड–१९ को सङ्क्रमणमा थलिन पुगेको सर्वविधितै छ । जसको पूर्ण समाधान भइ नसक्दा नै सन् २०२१ मा दोस्रो चरणको कोभिड–१९ व्याप्त भएको पाइन्छ । हाल नेपाल र अन्य राष्ट्रहरु संसारका अनेकन् देशहरुमा निर्मित खोपमा आशारत रहेको छ । वर्तमान परिप्रेच्छमा कोरोनाका कारण मृत्यु हुने सङ्ख्यामा कमी र सङ्क्रमण मुक्त हुनेको सङ्ख्यामा वृद्धि भइराखेको छ । तथापि भौतिक क्षेत्रमा सर्वस्व धराशयी बन्न पुगेको अवस्थामा अत्यावश्यक शिक्षा र सिकाइ रोजगारी र अर्थोपार्जनसँगै सबैभन्दा बढी चपेटामा परेको छ ।

जहाँ करिब ७,५०,००० विद्यार्थीहरु पढाइबाट वञ्चित हुनुपरेकोे छ । यद्दपि सिकाइ र शिक्षणलाइ निरन्तर गर्ने क्रममा वैकल्पिक माध्यम इन्टरनेटमा हाल बिश्व भर परिराखेको छ । नेपालमा पनि ढिलै सही तर अनलाइन माध्यम मार्फत् पढाइ २०७७ बाटै पढाइ सुरु भएको पाइन्छ । वि.सं २०७७ को अन्तिमतिर पहिलो चरणको सङ्क्रमण समाप्त भइसकेर बन्दाबन्दी खुलेको पाइन्छ । जससँगै भौतिक उपस्थितिमा पठनपाठन र अन्य क्रियाकलापहरु केही मात्रामा सुरु भएको पाइन्छ । तर २०७८को वैशाखबाट पुन दोस्रो चरणको सङ्क्रमण सुरु भएसँगै दोस्रो चरणको बन्दाबन्दीमा पुन शैक्षिक संस्था र अन्य निजी, सरकारी कार्यालयहरु बन्दप्राय रहेका छन् । जहाँ उपत्यकाभित्रको शिक्षण क्षेत्रमा केही सुधार पहिलेको बन्दाबन्दीभन्दा बढी रहेको महशुस गर्न सकिन्छ ।

हाल नेपालभरिका ३५,२२२ उच्च माध्यमिक र निम्न माध्यमिक विद्यालयहरु, १० विश्वविद्यालयहरु र १,४०० भन्दा बढी कलेजहरु एकसाथ बन्द अवस्थामा रहेका छन् । तर यसपालि अलि बढी सक्रिय र आर्कषक रुपमा शिक्षण र सिकाइलाइ लैजाने ध्ययेले २०७८ नव शिक्षण वर्ष सुरु भएको छ । यिनै यावत् जिल्लाहरु, प्रदेशका शैक्षिक संस्थाहरुमध्ये ललितपुर जिल्लाको गोदावरी नगरपालिकाभित्र अवस्थित केही विद्यालयहरुको पठनपाठन अवस्थाबारे आजको लेख केन्द्रित रहेको छ ।

श्री छम्पीदेवी माध्यमिक विद्यालय

ललितपुर जिल्लाकै छम्पी टोलनेर अवस्थित रहेका निजी विद्यालय होली टेम्पल मा.वि, सामुदायिक विद्यालय श्री छम्पीदेवी मा.वि, र छ्यासीकोट क्षेत्रमा अवस्थित सामुदायिक विद्यालय आदर्श शौल युवक मा.वि, हाललाइ अनलाइनमार्फत दैनिक शिक्षण सेवामा लागेका छन् । जहाँ पहिलो बन्दाबन्दीको बाध्यात्मक अवस्थाको उपजका रुपमा सुचारु अनलाइन सिकाइ र शिक्षणले केही सहज वातावरण मिलेको छ ।

विद्यालयका सञ्चालक एवम् प्रधानाध्यानकहरु बिमल थापा, रमेशप्रसाद आचार्य र सरोजभक्त आचार्य क्रमश आफूले र विद्यार्थीहरुले आफूलाइ प्रविधि र वैकल्पिक माध्यमसँग परिचित गर्दै लगेको बताएका छन् । यस जटिल परिस्थितिमा अनलाइन पढाइले सिकाइ र शिक्षामा केही मात्रामा टेवा पुगिराखेको उनीहरुले विश्वास गरेका छन् । यद्दपि वैकल्पिक माध्यमद्वारा शिक्षा निरन्तर गरिरहँदा विद्यालय सरकार र शैक्षिक मन्त्रालयसँग त्यति खुशी भने देखिएको पाइँदैन । किनकि यस्तो जटिल परिस्थितिमा सरकारबाट जुन तवरको शिक्षण सेवालाइ टेवा मिल्नुपर्ने हो । त्यो पूर्ण तरिकाले मिलिराखेको पाइँदैन ।

होलि टेम्पल माध्यमिक विद्यालय

२०७६ चैत्रमा बन्दाबन्दीको घोषणा भइसकेपछि होली टेम्पल मा.विले २०७७ जेठमा अनलाइन भर्चुअल माध्यमबाट पठनपाठन सुरु गरेको हो । सरकारले पठनपाठनप्रति ढिलो प्रतिक्रिया दिएको दाबी गर्ने प्राध्यापक थापाले अभिभावकको साथ र सर्मथनको एपेच्छा राख्दै अनलाइन पठनपाठन सुरु गराएका हुन् । तर पढाइमा सोचेजस्तो साथ र सहयोग प्राप्त भएन । इन्टरनेटमा सहज पहुँच नहुनु, सञ्चारका माध्यमहरुको अभाव, आर्थिक दुरावस्था आदिले शिक्षण, सिकाइलाइ प्रभाव पार्ने पहिलो कारक तत्त्वको भूमिका खेलेको पाइन्छ ।

पहिलो बन्दाबन्दी खुलेसँगै विद्यालयले भौतिक रुपमा कक्षा सञ्चालन गरेको पाइन्छ । त्यतिखेर विद्यालय अन्तिम परीक्षाको मझधारमा रहँदा पुन बन्दाबन्दी घोषणा भएको पाइन्छ । त्यसपछि विद्यालयले आन्तरिक मूल्यांकनद्वारा परीक्षफल प्रकाशन गरेको हो । फलस्वरुप यही जेठ २३ मा नयाँ शैक्षिक सत्र सुरु गरिएको छ । जसमा पहिलेको दाँजोमा अभिभावक र विद्यार्थीहरुको स्वयम् जागरुक र सक्रिय उपस्थिति, साथ र सहयोग प्राप्त भइराखेको अनुभव साट्छन् थापा । जहाँ पहिले अनलाइन पठनपाठन कक्षा २ देखि १० सम्म हुन्थ्यो भने अहिले १ देखि १० सम्म सहभागी हुने गरेका छन् ।


प्रथम बन्दाबन्दीमा सञ्चालित कक्षाहरुको दाँजोमा अहिले शिक्षकशिक्षिकहरु आफै नै प्राविधिक रुपमा सबल र सक्षम भएका छन् । यद्दपि विद्यालय सञ्चालनका निमित्त सरकारबाट कुनै पनि तरिकाको आर्थिक सहयोग प्राप्त भएको छैन । निजी ंविद्यालयको आय स्रोत भनेकै विद्यार्थीका अभिभावक हुन् भन्ने जिकिर गर्दै थापाले सरकारसँग सफ्ट लोन यानिकी नरम ऋणको माग गरेको स्विकारोक्ति दिएका छन् ।

सरकारबाट कम ब्याजमा ऋण प्रदान भएमा शिक्षकशिक्षिकाहरुलाइ आर्थिक रुपमा सन्तुष्टि प्रदान गर्न सकिन्थ्यो कि भन्ने सोचमा आफू रहेको उनले बताएका छन् । विद्यालयको काउण्टर खोल्न नसक्ने अवस्थामा पनि विद्यालयले अभिभावकलाइ स्वविवेक प्रयोग गरेर आर्थिक रुपमा केही सहयोग गरिदिनको लागि आह्वान गरेको पाइन्छ । विद्यालयको परिचालन र नियमितताको लागि भए पनि आर्थिक हिसाबले कतैबाट जोहो होस् भन्ने ध्याउन्नमा प्रशासन लागेको छ ।

विद्यालयले प्रभावकारिताका लागि हप्तैपिच्छे शिक्षकहरुको भर्चुअल मिटिङ्ग राख्ने गरेको छ । जसको निचोडमा अभिभावक, शिक्षकशिक्षिका र विद्यालय तीनै पक्षको त्रिपक्षीय साथ र सहयोगले भर्चुअल पठनपाठन सफल हुने देखिएको छ । यही कुरालाइ जोड दिँदै प्रधानाध्यापक थापा पहिलो भूमिका अभिभावकको नगरानी र मद्दत रहेको बताउँछन् । जहाँ शिक्षकशिक्षिकाले गर्नुपर्ने कर्तव्य वहाँहरुले पुरै लगनका साथ गर्नेमा वहाँ निश्चिन्त हुनुहुन्छ ।

यससँगै आदर्श शौल युवक मा.विले गत २०७७को असारमा पहिलो अन्लाइन पठनपाठन सुचारु गरेको पाइन्छ । त्यसपछि गत मङ्सिरमा भौतिक रुपमा विद्यालय खुल्यो र अन्तिम परीक्षा नसकिँदै पुन दोस्रो बन्दाबन्दीका कारण विद्यालय बन्द हुन पगेको पाइन्छ । आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षाफल प्रकाशित भएसँगैै माध्यमिक तहको नयाँ सत्र यही जेठ महिनामा खुल्ने तयारी रहेको बताउँछन् प्रधानाध्यपक आचार्य ।

सामुदायिक विद्यालय भएरै पनि विद्यार्थीहरु र अभिभावकहरु आर्थिक रुपले सम्पन्न नरहेको हुँदा पढाइको शिलशिलामा यान्त्रिक अभावले महत्त्वपूर्ण भूमिका खेलेको छ । अभिभावकको आर्थिक दुरावस्थाले पनि विद्यार्थीहरु पढाइबाट वञ्चित हुन पुगेको तितो अनुभव सुनाउँछन् आचार्य । तर वर्तमान अवस्थामा अभावमै पनि अभिभावकले इन्टरनेटको पर्हुच पु¥याइदिएका छन् । यद्दपि माध्यमिक तहका ८० % ले मात्र इन्टरनेटको उपभोग गर्न पाएको छन् । निम्न तहका भने ३५% ले मात्र इन्टरनेट मार्फत् अध्यापन उपभोग गर्न पाएका छन् ।

ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ९ छम्पी टोलमा अवस्थित सामुदायिक विद्यालय श्री छम्पीदेवी मा.विले भने असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गरेको पाइन्छ । जहाँ विद्यालयको अन्तिम परीक्षा जेठको सुरुवाततिर सम्पन्न गर्नेे योजना बनेको थियो तर दोस्रो बन्दाबन्दीको जटिल परिस्थितिले सबै योजनाहरु भताभुङ्ग भएका छन् । जसको परिणामतः अन्तिम परीक्षा मूल्याङ्कनका स्वरुपमा देखा परेको भेटिन्छ । जहाँ चैत्र महिनाको सुरुमै गरिएको महानगर स्तरीय त्रैमासिक परीक्षाबाट ६०%, होम बेस्ड मूल्याङ्कनका आधारमा २०% र २०% आन्तरिक मूल्याङ्कनका आधारमा जोडेर अन्तिम परीक्षको परीक्षाफल पनि निस्कासन गरिएको पाइन्छ ।

नेपाल सरकारको आदेश अनुसार सामुदायिक विद्यालयहरुबाट गरिने सर्वेक्षण श्री छम्पीदेवी मा.विले फोनबाटै अभिभावकहरुलाइ सोधेर गरेको पाइन्छ । जसमा टि.भी, रेडियो, मोबाइल, इन्टरनेटमा पहुँच भएको र कुनैमा पनि नभएको सङख्या खुलेको पाइन्छ । जसमार्फत् विद्यार्थीहरुको पहुँचको आधारमा शिक्षाको व्यवस्थापन भएको छ । यही सरकारका विभिन्न टेलिभिजन कार्यक्रम र रेडियो कार्यक्रम मार्फत् अध्यापन गराउने काममा विद्यालयले गत वर्षबाट अनलाइन अध्यापन पनि गराउँदै आएको हो ।

जसमा पनि धेरै समस्याहरु देखा परेका छन् । यन्त्रको अभाव, आर्थिक दुरावस्था, इन्टरनेटमा पहुँचको कमी जस्ता कारकहरु अनलाइन शिक्षालाइ ओझेलमा पार्ने कारक तत्त्वहरुका रुपमा देखा परेका छन् । यही सन्दर्भमा प्रधानाध्यापक आचार्य भन्छन्, “अनलाइन शिक्षा प्रभावकारी त छ तर पहुँच हुनेहरुलाइ मात्र सहज हुने रहेछ त ।”

एक परिवारमा एउटा मोबाइल हुने तर पढ्ने विद्यार्थीहरुको सङ्ख्या धेरै रहने हुनाले पनि अनलाइन शिक्षाबाट पर रहन परेको अवस्था रहेको औँल्याउँछन् आचार्य । यसमा पनि डाटाबाट पढ्ने विद्यार्थीहरुले डाटा सक्किइराख्ने गुनासाहरु आइराख्ने र पढाइबाट वञ्चित भइरहनुपर्ने विद्यार्थीहरुको नमीठो अनुभव सुनाउँछन् आचार्य । यसका साथै पढ्ने बहानामा अन्य चिजबिजतिर लाग्ने गरेको समस्याहरु पनि रहेको पाइन्छ ।

यी सबै समस्याहरु पश्चात सरकारको सबैभन्दा ठूलो भूमिका रहनुपर्ने अवस्थामा सरकार यी सबै स्थितिहरुबाट टाढै रहेको पाइन्छ । शिक्षाजस्तो महत्त्वपूर्ण पूर्वाधारको निरन्तरताको लागि अन्य कम महत्त्वका कामलाइ थाँती राखेर अघि बढ्नुपर्ने बेला सरकार र सरकारका नीतिहरुमा दुर्गुण देखिएको छ । हाल वैकल्पिक माध्यमको रुपमा रहेको इन्टरनेट र इ–लर्निङ्गको निरन्तरताका लागि र सबै विद्यार्थीहरुको पहुँचका लागि सरकारले विभिन्न ठाउँठाउँमा वाइ–फाइ, इन्टरनेटको सुविधा व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

जुन सुस्त गतिमा अघि बढी राखेको देखिन्छ । काठमाडौँमै अवस्थित टोलमा त यस्तो जटिल परिस्थिति रहेको अवस्थामा अन्य दूरदारजमा त इन्टरनेटको पहुँच र अध्यापनको कल्पना परको कुरा हुन जान्छ । त्यसैले सरकारले यथासीघ्र देशभरि वैकल्पिक अध्यापनको बाटोलाइ सफल पार्नको लागि इन्टरनेटको व्यवस्थापन र आर्थिक अवस्था कमजोर भएकालाइ निःशुल्क सञ्चारका सामग्रीहरु वितरण गर्नुपर्ने देखिन्छ ।