जाजरकाेटमा मङ्गलवारदेखि बेपत्ता सातै जना सकुसल भेटिए

जाजरकाेट :भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता भएका सात जना जाजरकोटको जलजला पाटनमा चार दिनदेखि हराइरहेका सातै जना सकुसल भेटिएका छन्। शुक्रबार बिहान स्थानीय र प्रहरी टोलिले उनीहरूलाई सकुसल भेटाएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए।

‘हराएका सातै चिसोले कठाङ्ग्रीएको अवस्थामा भेटिएका छन्,’ उद्दार टोलीको भनाई उदृत गर्दै डीएसपी थापाले भने, ‘पाटनमै ओत लागेका रहेछन्, चिउरा र चाउचाउ ख्वाएर ल्याउने प्रयास भइरहेको छ।’

जेठ ३१ गते गोठाला गएका कुशे गाउँपालिका–९ पैंकका ४० वर्षीय कृष्ण रोकाय, वडा नम्बर ८ औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २८ वर्षीया चन्द्रा खड्का, २५ वर्षीय बिक्रम खड्का, १८ वर्षीय भविन्द्र खड्का, १७ वर्षीया धनसरा खड्का र १२ वर्षीय भिम खड्का चार दिनदेखि सम्पर्क बिहीन थिए। घर फर्कदै गर्दा हावाहुरी र वर्षा आएपछि सम्पर्कबिहीन बनेका थिए। चार दिनदेखि सम्पर्कबिहीन भएपछि जिल्ला सदरमुकामबाट प्रहरी र औलरिजाका स्थानीयहरू बिहीबार खोजीका लागि पाटन गएका थिए।

झण्डै ४ हजार ६ सय मिटर अग्लो जलजला पाटन जुम्ला र जाजरकोटको सीमानामा पर्दछ। पाटनमा चराउन लिइएका गाइ, बाख्रा र भैसीको अवस्था भने एकीन भएको छैन।

‘स्थानीयहरु त भेटिए तर पशुचौपायाको अवस्था बुझ्न सकिएको छैन,’ डीएसपी थापाले भने, ‘टेलिफोन नेटवर्क नभएका कारण राम्रोसँग कुराकानी हुन पाएको छैन।’ जाजरकोट सदरमुकामभन्दा बाहिर हप्तादिनदेखि टेलिफोन सेवा अबरुद्ध छ। उद्दार टोलीसँग भएको कर्लेक्स (प्रहरीको सञ्चार सेट) मा राम्रोसँग सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ।