मेलम्ची बाढीले उब्जाउ खेत बगाएको टुलुटुलु हेर्न मण्डनदेउपुरका किसान बाध्य

 

श्रीकृष्ण पहरी
काभ्रे :मेलम्ची मिसिएको मेलम्ची बजारबाट तल रहेको सिन्धुपाल्चोक र काभ्रे जिल्लाका भूभागमा पनि नदीले थप क्षति पुराएको छ ।

बुधबार काभ्रेका मण्डनदेउपुरका कृषकहरु नदीले आफ्नै जमिन कटान गरिरहेको टुलुटुलु हेरेर बसेका थिए । भर्खर रोपेको धान र भित्र्याउने बेला भएको मकै रोपेको खेत बाढीले कटान गरेपछि उनीहरु निराश देखिन्थे । मण्डनदेउपुर नगरपालिका–७ काभ्रेका श्याम राईसँग धान रोपेको आफ्नो खेत कटान भइरहेको दृश्य हेर्नुबाहेक अर्को विकल्प थिएन ।

बिहानैदेखि उनी सडकछेउमा बसेर खेत कटान भएको हेरिरहेका थिए । बिहान थोरैमात्रै कटान भएको उनको खेत अपरान्हसम्म आधाभन्दा बढी सकिइसकेको थियो । बेलुकासम्म सबै खेत बगरमा परिणत हुने उनी बताउँदै थिए ।

त्यही खेतको उब्जनीबाट ६ महिनासम्म खान पुग्ने गरेको श्यामले बताए । तर नदी किनारको उब्जाउ हुने खेत नै नदीले कटान गरेपछि अब के खाने भन्ने चिन्ता बढेको श्यामले बताए ।