भैसी चराउन गएका चार जना किसान राप्ती नदिमा फसे

दाङ :अविरल वर्षातका कारण दाङको राप्ती नदिमा पानीको बहाव बढेपछि भैसी चराउन गएका चार जना नदिको टापुमा फसेका छन् ।
लमही नगरपालिकाका र राजपुर गाउँपालिकाका एक महिलासहित चार जना नदिको बिच टापुमा रहेको र उनीहरुको उद्धार कार्य जारी रहेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

लमही नगरपालिका वडा नम्बर ७ का ४८ वर्षका मनराम चौधरी, राजपुर गाउँपालिका वडा नम्बर २ का ४५ वर्षिय सावित्रा यादव, सोहि ठाउँका २६ वर्षका राधे यादव र राजपुर-३ का २६ वर्षका गणेश यादव नदिको टापुमा भैसी चराउँदै गरेको अवस्थामा नदिमा फसेका हुन ।

पानीको बहाव बढेपछि नदिको बिचैमा फसेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रले जनाएको छ ।

मंगलबार दिउँसोदेखि उनीहरु भैसीसहित टापुमा छन् । नदिमा पानीको बहाव बढ्दै गएपछि उनीहरुको उद्धारमा गएरातीदेखि नै लागेपनि उद्धार हुन सकेको छैन् ।

उद्धार टोली डुंगासहित पुगेको भए पनि उनीहरुले भैसीसहित उद्धार गर्न माग राखेर आउन नमानेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

उद्धार टोलि गएरातीदेखि खटिएपनि उनीहरुले भैसीसहित उद्धार गर्नुपर्ने माग राखेपछि उद्धारमा ढिलाई भएको उनको भनाई छ । करिब १६/१७ वटा भैसी नादिको बीचमा उनिहरु सङग छ्न ।