सातै प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट घोषणा:कुन प्रदेशमा कति?

काठमाडौँ :प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले मंगलबार प्रदेशसभामा पेस गरेको वार्षिक बजेटमा चालु खर्च १४ अर्ब १६ करोड १५ लाख र पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख छुट्याइएको छ ।

प्रतिशतका आधारमा चालुतर्फ ४३.६ प्रतिशत र पुँजीगततर्फ ४६.३ प्रतिशत बजेट छुट्याइएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटभन्दा करिब ७ अर्ब कम आकारको बजेट ल्याएको हो। अघिल्लो आर्थिक वर्ष प्रदेश १ सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो।

यस्तै, प्रदेश २ सरकारले ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट घोषणा गरेको छ । चालूखर्च तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थापनतर्फ १० करोेड बजेट विनियोजन गरिएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले सो बजेट प्रस्तुत गरेका हुन् । बजेटमा स्वास्थ्य क्षेत्रतर्फ कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले २० करोड बजेट छुट्याएको छ । यस्तै कोरोनाको रोकथाम, औषधी र खोपका लागि बजेट अभाव नहुने पनि बजेटमा उल्लेख गरिएको छ।

यता, वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । यस प्रदेशमा पनि कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तयार पारेको जनाएको छ । यहाँ, प्रदेश सरकारले पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार रुपैयाँ र चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ विनियोजन गरिएको छ। यसैगरी वित्तीयतर्फ २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले २ अर्ब बजेट व्यवस्था गरेको छ ।

यसैगरि गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमध्ये चालूतर्फ १३ अर्ब ६ करोड ४७ लाख, पुँजीगततर्फ १६ अर्ब ७३ करोड ४६ लाख र वित्तिय व्यवस्थापनतर्फ २४ करोड बजेट विनियोजन गरिएको छ । विनियोजित ३० अर्ब ३ करोड ९४ लाखको बजेट मध्ये नेपाल सरकारबाट वित्तिय समानीकरण अनुदान ७ अर्ब ४२ करोड पाएको छ । सशर्त अनुदान ४ अर्ब १८ करोड, समपूरक अनुदान ८७ करोड, विशेष अनुदान ५४ करोड, राजश्व बाँडफाँट ७ अर्व ६२ करोड र रोयल्टीबाट ३० करोड पाउने अनुमान गरिएको छ । गण्डकी प्रदेश सरकारले स्वास्थ्य कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।

यता, लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले मंगलबार ४० अर्ब ९५ करोड १७ लाख बजेट सार्वजनिक गरका छन् । आगामी आर्थिक वर्षका लागि छुट्टयाइएको बजेटमा चालुतर्फ २४ अर्ब ९३ करोड ७३ रहेको छ भने पुँजीगत २१ अर्ब १७ करोड रहेको छ । बजेटमा कोरोना महामारी तथा नियन्त्रणका लागि आवश्यक बजेट छुट्याइएको छ । यस्तै कृषि र रोजगारीलाई पनि प्राथमिकतामा राखिएको छ । बजेटमा लुम्बिनी प्रदेश सरकारले ‘कोभिड फर्स्ट’ नीति पनि अघि सारेको छ।

कर्णाली प्रदेश सरकारले पनि आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेटको आकार बढाएको छ । करिब ३ अर्ब रुपैयाँ बढाएर आगामी आवका लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएको थियो । पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ । यस्तै यस प्रदेशले कोरोनाका असर थप नभएर आर्थिक वृद्धिदरको लक्ष्य ७ प्रतिशत तय गरेको छ।

यसैगरि सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले चालु आर्थिक वर्षको वार्षिक बजेट भन्दा ३ अर्ब ५ करोड कमको बजेट प्रस्तुत गरेका हुन् । यहाँ चालुतर्फ १० अर्ब ६६ करोड र पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख बजेट विनियोजन गरिएको छ। चालुतर्फ चालु आर्थिक वर्षको तुलनामा ४ अर्ब बजेट घटाइएको छ भने पुँजीगतर्फ झण्डै एक अर्बले वृद्धि भएको छ । मन्त्री शाहले अगामी आर्थिक वर्षमा स्वास्थ्य सेवा सुधार तथा विस्तार र पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गरिएको बताएका छन्।