
सन्ताेष निराैला,
पाचथर : नेपाली काँग्रेसको राजनीतिमा खटिरहने पाँचथरका दुई जना युवा यतिखेर कृषि कर्ममा व्यस्त छन् । कृषिमा उनीहरुको लगाब निकै लोभलाग्दो छ ।‘राजनीति गर्नका लागि उद्यमशिल बन्न आवश्यक रहेछ,’ उनीहरु भन्छन् कृषिमा युवाहरुको अकर्षण बढाउने र कृषिबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने नमुना प्रस्तुत गर्न हामीले यो काम थालेका हौ ।
जिल्लाकाे फाल्गुनन्द गाँउपालिका वडा नं. ७, आङसराङका बिजयहाङ आङ्देम्बे र फिदिम नगरपालिका वडा नं. ७, रानिटारका चन्द्र बाँस्कोटाले संयुक्त रुपमा कृषि फर्म सञ्चालन गरेका हुन् । उनीहरुले फिदिम ४ सरखण्डेमा कालिका बहुउद्धेश्य कृषि तथा पशुपंक्षी पालन फर्म सञ्चालन गरेका छन् ।
सरखण्डेका सनलाल तामाङसँग १८ लाखमा नौ रोपनी जमिन खरिद गरेर उनीहरुले फर्म सञ्चालन सुरु गरेका हुन् । सोही स्थानका डिल्लि तामाङसँग बार्षिक १५ हजार रुपैँया बुझाउने गरी २१ रोपनी जमिन पनि लिजमा लिएका छन् ।
गत माघ महिनादेखि फर्म सञ्चालन सुरु गरेका उनीहरुले ४० लाख लगानी गरिसकेका छन् । जमिन सहित बाख्रा र कुखुरा खरिदका लागि ४० लाख भन्दा धेरै लगानी भएको छ आङ्देम्बेले भने अहिले पनि लगानीकै चरणमा छौँ ।उनीहरुले व्यक्तिगत लगानीमा फर्म सञ्चालन गरेका हुन् ।
कृषि फर्ममा बिभिन्न जातका ८० ओटा बाख्रा छन् । लोकल, कडकनाथ र ब्रोइलार कुखुरा पनि फर्ममा देख्न सकिन्छ । बोयर जातका बाख्रा उत्पादन गर्नमा हामीले जोड दिएका छौँ बाँस्कोटाले भने हाम्रो फर्मबाट उन्नत जातका बाख्राहरु उत्पादन सुरु भएको छ ।
आगामी दिनमा टर्की, तित्रा, बटाई लगायतका माशुजन्य पशुपंक्षी पाल्र्ने उनीहरुको योजना छ । अब कटेज बनाउने तयारी छ बाँस्कोटाले भने ग्राहकलाई सबै प्रकारका मासुका परिकारहरु खुवाउन सक्ने गरी कटेज सञ्चालन गर्ने तयारी छ ।
उनीहरुको फर्ममा रानिटारका कालिबहादुर तामाङको परिवारलाई रोजगारी मिलेको छ । फर्ममा खटेवापत तामाङको परिवारलाई बस्नका लागि घर र बार्षिक दुई लाख दिने सम्झौता छ । फर्मको नाममा रहेको ३० रोपनी जमिनमा तामाङको परिवारले खेती गर्ने पाउने सुविधा पनि दिईएको पाचथरबाट चन्द्र बास्काेटाले भिजन न्युज नेपाललाई बताए ।
