म्याग्दीमा पहिरोले दुईजना घाइते, १६ घर विस्थापित

पोखरा : गत वर्षको बर्खामासमा म्याग्दीमा पहिरोका कारण ३१ जनाले ज्यान गुमाए । त्यसमध्ये १९ जना धौलागिरि गाउँपालिकाका थिए । पहिरोमा परी धौलागिरि गाउँपालिका ६ का २ जना अझै बेपत्ता छन् ।

२ दिनदेखि निरन्तर परिरहेका पानीले फेरि धौलागिरि गाउँपालिकामा मनसुनकै सुरुआतमै १३ घरलाई विस्थापित गरेको छ । गाउँपालिका प्रमुख थमसरा पुनमगरका अनुसार धौलागिरि गाउँपालिका २, खोरिया गाउँ पहिरोको उच्च जोखिममा परेपछि स्थानान्तरण गरिएको छ ।

‘त्यो ठाउँ पहिलेदेखि नै पहिरोको उच्च जोखिममा थियो । तर, यस वर्ष बर्खाको सुरुमै पहिरो जाने धेरै सम्भावना भएपछि गाउँकै अर्को स्कुलमा सुरक्षित स्थानान्तरण गरेका छौं,’ गाउँपालिका प्रमुख मगरले भनिन्, ‘प्रभावितलाई राख्नलगायत अत्यावश्यक वस्तु पनि मगाइसकेका छौं ।’ उनले उक्त गाउँमा ७० घर भए पनि १३ घर उच्च जोखिममा रहेको बताइन् ।

गाउँपालिका प्रमुख मगरका अनुसार धौलागिरि २ मात्रै नभएर गाउँपालिकाको ५ र ६ वडा पनि उच्च जोखिममा छ । ६ नम्बर वडा गतवर्ष पनि जिल्लामै सबैभन्दा बढी क्ष््ति व्यहारेकाले मनसुनको सुरुआतमै सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सम्बन्धित वडालाई निर्देशन दिइसकेको जानकारी दिइन् ।

यस वर्ष पनि राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दीलाई उच्च जोखिम क्षेत्रमा राखेको छ । प्राधिकरणका अनुसार म्याग्दीमा यस मनसुनमा १ हजार ९५३ जना प्रभावित हुने आँकलन गरेको छ ।

मनसुनको सुरुमै गत बर्खामा सबैभन्दा बढी क्षति व्यहारेको म्याग्दी उच्च जोखिममा परेको छ । धौलागिरि क्षेत्रको लुम्ले र घोरेपानीमा भारी वर्षा भएका कारण कालीगण्डकी र म्याग्दी खोलाको बहाव पनि उच्च भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले मंगलबार बिहानै ‘खतराको घन्टी’ बजाइसकेको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दी प्रमुख गणेशबहादुर अधिकारीले यस वर्ष पनि म्याग्दीम मनसुनको सुरुमै क्षति हुन सुरु भइसकेको बताए । कालीगण्डकीको बहाव उच्च भएकै कारण ठूलो क्षति हुने देखिएको जानकारी दिए । ‘सबैभन्दा बढी पानी लुम्ले र घोरेपानीमा परिरहेको छ । त्यसले कालीगण्डकी, म्याग्दी खोला सर्तकताको लेबल पार गरिसकेको छ । ठूलो क्षति हुने देखिन्छ,’ उनले भने ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा मंगलबारै आएको पहिरोमा परी २ जना घाइते भइसकेका छन् । जसमध्ये एकजनाको अवस्था गम्भीर छ । तर, निरन्तर बर्षात भइरहेको र ठाउँठाउँमा पहिरो गएका कारण उद्धारमा पनि समस्या भइरहेको सिडिओ अधिकारीले जानकारी दिए ।

‘पहिरोमा परेर गम्भीर घाइते भएकालाई उद्धार गर्ने काम भइरहेको छ । उनलाई बेनी अस्पताल ल्याउने प्रयास भइरहेको छ,’ सिडिओ अधिकारीले भने, ‘तर, बाटो पूरै अवरुद्ध भएका कारण गाह्रो भइरहेको छ । बाटो फेर्दैफेर्दै ल्याइराखेका छौ ।’

म्याग्दी जिल्लाभर मंगलबारमात्रै १६ घरलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । उनीहरु धौलागिरि र अन्नपूर्ण गाउँपालिकाका परिवार रहेको सिडिओ अधिकारीले जानकारी दिए । ‘जोखिम अझै छ । जहाँजहाँ उच्च जोखिम छ । त्यहाँत्यहाँ सार्दै जाने नीति लिएका छौं,’ उनले भने ।

गतवर्षकै पीडितको पुनस्र्थापना बाँकी
गतवर्षको विपद्बाट पीडित परिवारवालाई पुनस्र्थापना गर्न राष्ट्रिय विपद् जोेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण म्याग्दीबाट सुरु गरेको छ । पुनर्निर्माणका लागि १ सय ७४ घरसँग सम्भौता गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीका सिडिओ गणेशबहादुर अधिकारीले जानकारी दिए ।

विपद् पीडितको पुनर्निर्माण जेठदेखिमात्रै सुरु गरिएकाले यस बर्खामा पूरा गर्न नसकिने सिडिओ अधिकारीको भनाइ छ । ‘गत वर्ष पूर्ण क्षति भएका कुल २ सय ४७ घर हुन् । भर्खर पुनर्निर्माण सुरु गर्र्दै थियौं, फेरि बर्खा लागिसक्यो,’ उनले भने ।