
वीरगञ्ज :पर्सामा असार ६ गतेसम्म निषेधाज्ञा जारी रहेकाले क्रमिक रुपमा विद्यालय सञ्चालन गर्ने वीरगञ्ज महानगरपालिकाको तयारी प्रभावित हुने भएको छ । निषेधाज्ञाका कारण विद्यालयहरुले आन्तरिक तयारी गर्न समय अपुग हुने भएकोले विद्यालय सञ्चालनमा समस्या हुने देखिएको हो ।
जेठ २१ गते राति सूचना जारी गर्दै वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि क्रमिक रुपमा कक्षा ८ देखि १२ सम्मको कक्षा सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेको थियो ।
जसमा विभिन्न शर्तहरुको पालना गरी असार १५ गतेदेखि नियमित रुपमा पठनपाठन गराउन भनिएको थियो । विद्यालय सञ्चालन गर्न विद्यालयमा भौतिक उपस्थिति गराइ पठनपाठन गर्न अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्ड (मास्क, साबुन, पानीले हात धुने व्यवस्था, सेनिटाइजर, भौतिक दूरी, थर्मल गनले ज्वरो नाप्ने आदि) अनिवार्य पालना गर्नुपर्ने, अर्को सूचना जारी नहुञ्जेल सवारी साधन सञ्चालन गर्न नपाइने, शिक्षण सिकाइका वैकल्पिक उपायहरु विद्यालय र अभिभावकबीच सहमति गरी लागू गर्ने, असार १ गतेदेखि ७ गतेसम्म भर्ना लगायतका व्यवस्थापकीय कार्य गर्ने गराउने, असार ८ गतेदेखि १५ गतेसम्म भर्ना सप्ताहअन्तर्गत घरदैलो कार्यक्रम सञ्चालन गर्ने, असार १५ गतेपछि नियमित रुपले पठनपाठन सुचारु गर्ने गराउने र कुनै पनि विषम स्थिति देखिनासाथ शैक्षिक प्रशासन महाशाखामा सूचित गरी निर्देशन अनुसार गर्ने गराउने पत्रमा उल्लेख गरिएको थियो ।
महानगरपालिकाको निर्देशन अनुसार विद्यालयहरुले आन्तरिक तयारी थालेका छन् भने कतिपय निजी विद्यालयले नतिजा सार्वजनिक गर्नुका साथै वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्न आवश्यक तयारी थालिसकेका छन् । तर निषेधाज्ञाले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने तयारी भने प्रभावित हुने देखिएको छ ।
वीरगञ्जस्थित रेल्वे माविका प्रधानाध्यापक दिनेश चौरसियाले १५ गतेपछि पनि वातावरण अनुकुल भए मात्रै विद्यालय सञ्चालन गर्न सकिने बताए । ‘नतिजा निकाल्ने लगायतका आन्तरिक काम भइरहेको छ, ८ गतेबाट भर्ना अभियान सञ्चालन गर्ने र १५ गतेपछि विद्यालय सञ्चालन गर्नु भनिएको छ,’ उनले भने, ‘वातावरण अनुकूल भयो भने विद्यालय खुल्छ होला ।’
निजी तथा आवासीय विद्यालयको संगठन प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साह केन्द्र र पालिकाबाट अर्को निर्णय नआउँदासम्म पछिल्लो सूचनालाई आधार मानेर विद्यालय सञ्चालन गर्ने बताउँछन् । ‘हामी सरकारको निर्देशन अनुसार चल्ने हो, ७ गतेसम्म नतिजा लगायत आन्तरिक काम गर्न, ८ गतेदेखि भर्ना अभियान सञ्चालन गर्न र १५ गतेपछि शर्त पालना गरेर विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय खोल्न भनिएको छ,’ उनले भने, ‘७ गतेपछि निषेधाज्ञा खुकुलो भयो, केन्द्र वा पालिकाले अर्को निर्देशन दिएन भने यसैलाई आधार मानेर अघि बढ्छौं ।’
कतिपय विद्यालय तथा कलेजका सञ्चालकहरुले भने महानगरपालिकाले तोकेको शर्तहरुको पालना गरेर विद्यालय सञ्चालन गर्न कठिन रहेको बताएका छन् । उनीहरुले अभिभावकसँग सहमति लिन खोज्दा अभिभावक तयार नभएको बताए । तसर्थ विद्यार्थीको स्वास्थ्यसँग खेलवाड गर्न नसकिने उनीहरुको भनाइ छ ।
वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण विद्यालय सञ्चालन गर्न पहिलो शर्त अभिभावकको सहमति भएको बताउँछन् । ‘पुरानो शैक्षिक सत्रको काम धेरै बाँकी छ, ७ गतेसम्म व्यवस्थापकीय र प्रशासकीय काम गर्न समय दिएका छौं,’ उनले भने, ‘स्थिति अनुकूल भयो भने असार १५ गतेबाट कक्षा ८ देखि १२ सञ्चालन गर्न भनेका छौं । भर्चुअल गर्ने वा भौतिक भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने हो, अभिभावकको सहमति पहिलो शर्त हो ।’
तर महानगरपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गर्दा स्थानीय प्रशासनसँग यसअघि समन्वय नगरेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए । विद्यालय सञ्चालन गर्ने सम्बन्धमा कुनै निर्णय नभएको उनको भनाइ छ ।
‘महानगरपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गर्दा समन्वय भएको थिएन, खोल्ने तयारी गर्नुभएको रहेछ, पछि नखोलौं भन्ने कुरा भएको हो,’ उनले भने, ‘भर्ना गर्ने, विद्यालयको आन्तरिक काम गर्नमा समस्या भएन, तर विद्यालय खोलेर भिडभाड गराउन पाइँदैन ।’
