
रामहरि पोखरेल
बुटवल : महामारी नियन्त्रणमा बुटवल उपमहानगरपालिकाले महत्त्वपूर्ण काम गर्दै आएको छ । कारोना रोकथाम तथा नियन्त्रणमा जुटेको उपमहानगरले निशुल्क एन्टिजेन परीक्षणलाई तीव्रता दिएको छ । भीडभाड र जोखिमपूर्ण क्षेत्रमा नगरपालिकाले तीब्र रूपमा एन्टिजेन परीक्षण गरी कोरोना संक्रमण रोकथामको कामलाई अगाडि बढाएको हो ।
जोखिमपूर्ण क्षेत्र पहिचान गरी एन्टिजेन विधिबाट एकसाथ धेरैजनाको परीक्षण भइरहेको नगरप्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
समुदायमा कोरोना संक्रमणको पत्ता लगाउन परीक्षणको दायरा विस्तार गरिएको छ । एन्टिजेन परीक्षणको पहिलो चरणको अभियान पूरा गरी अहिले दोस्रो चरणमा धमाधम परीक्षण चलिरहेको सुवेदीको भनाइ छ ।
उपमहानगरपालिकाले दोस्रो चरण अन्र्तगत अटो तथा यातायात क्षेत्रमा कार्यरत श्रमिक, उद्योग तथा निर्माण क्षेत्रमा कार्यरत श्रमिक, ई–रिक्सा, एम्बुलेन्स तथा ढुवानी साधन चालकहरु, किराना, खाद्यान्न तथा ठेला व्यवसायमा आवद्ध श्रमिकको परिने छ । त्यस्तै कर्मचारी, होटल तथा रेष्टुरेण्ट क्षेत्रमा कार्यरत श्रमिक, हाटबजार तथा कृषि थोक केन्द्रमा कार्यरत मजदुर, सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारी, वित्तिय क्षेत्रमा कार्यरत कर्मचारीहरु, औषधी व्यवसायमा आवद्ध कर्मचारीहरु लगायत विभिन्न क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारीहरुको निःशुल्क परीक्षण गरिने छ ।
उपमहानगरपालिकाले हालसम्म तीन हजार पाँच सय भन्दा बढीको निःशुल्क एन्टिजेन परिक्षण गरेको जनस्वास्थ्य शाखा प्रमुख उमा थापाले बताइन् । ‘परीक्षण गरिएका मध्ये ९२ जनामा मात्र कोरोना पुष्टि भएको छ’ उनले भनिन् । उपमहानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन एकैपटक बिभिन्न स्थानमा परिक्षण केन्द्र स्थापना गरी नियमित रुपमा परिक्षण गरिरहेको छ ।
वडा र स्वास्थ्यकर्मीलाई जिम्मेवारी तोकेर परिक्षण केन्द्रमा परिचालन गरिएको जनस्वास्थ्य शाखा प्रमुख थापाले बताइन् । महामारी नियन्त्रणका लागि सुरु देखिनै बुटवल उपमहानगरले उदाहरणीय काम गर्दै आएको छ । संक्रमितलाई हौसला बढाउन आयुर्वेद औषधी, भिटामिनहरु र जरुरी परेकालाई अक्सिजन सिलिन्डर बोकेर बुटवलका जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरदैलोमा पुग्ने गरेका छन् ।
कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै ‘हटस्पट’ बनेको बुटवलमा अहिले सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ । सोमबारको तथ्यांक अनुसार बुटवलमा एकसय ५६ जना सक्रिय संक्रमित रहेका छन् । उपमहानगरपालिकाले संक्रमितलाई वितरण गर्दै आएको आयुर्वेदिक औषधी, परामर्शले निको हुने दर बढाउनमा सहयोग गरेको छ ।
