
जापान :जापानमा अमेरिकी फर्मा कम्पनी फाइजर इंकको कोरोना भाइरस विरोधी खोप लगाएका सात जनामा मुटु सुन्निने समस्या देखिएको छ । यसबारे यहाँको स्वास्थ्य मन्त्रालयले बताएको भन्दै एनएचकेले समाचार छापेको हो ।
मे ३० सम्ममा देशभर ९७ लाख ६० हजार जनालाई फाइजरको खोप लगाइएको अधिकारीहरुले बताएका छन् । मुटु सुन्निने समस्या देखिएका यी सात जनाको उमेर २० देखि ६९ वर्षबीच छ । यिनीहरुमा म्योकार्डिटिस वा पेरिकार्डिटिस देखा परेको छ । यी मध्ये ६ जना पुरुषमा खोपको दोस्रो मात्रा लगाएपछि समस्या देखिएको थियो ।
अमेरिकामा पनि फाइजर वा मोडेर्ना इंकको खोप लगाएका मानिसमा मुटु सुन्निने समस्या देखिएको समाचारहरु सार्वजनिक भएका छन् । अधिकांश समस्या युवामा खोपको दोस्रो मात्रा लगाएपछि देखिएको छ ।
