पाँचथरमा ८० बर्षीय बृद्धको हत्यारा पत्ता लगाउन कुकुर परिचालन

सन्तोष निरौला
पाँचथर :पाँचथरको फिदिम नगरपालिका ४ कुमालेटारका ८० बर्षीय बृद्ध टेकबहादुर इङ्वाको हत्यारा पत्ता लगाउन तालिमप्राप्त कुकुरहरु परिचालन गरिएको छ । धरानबाट ल्याइएका लैला र पिकु नामका दुई कुकुरहरुलाई घटनास्थलमा परिचालन गरिएको छ ।

प्रहरीका सई दमानन्द श्रेष्ठको कमाण्डमा कुकुर परिचालन गरिएको हो । सुरुमा लैला नामक कुकुरलाई घटनास्थलमा परिचालन गरिएको थियो । हत्या भएको घरबाट फिदिम २ पल्लोटारतर्फ लैला दौडिएको थियो तर पल्लोटार पुगेपछि लैला अलमलियो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर बिश्वकर्माका अनुसार अन्य कुकुरहरु आएपछि लैला अलमलिएको हो । दोस्रो चरणमा परिचालन गरिएको पिकु नामक कुकुरले हत्या भएको घर मुनिको खेतमा बढी जोड दिएको थियो ।

कुकुरले दिएको संकेत र घटनाको प्रकृतिका आधामा थप अनुसन्धान हुने प्रहरीले बताइएको छ । प्रहरीले केही मान्छेहरुलाई घटनाको बारेमा सोधपुछ गरिरहेको छ । बृद्धको शवलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ ।