बुटवलमा बटौली (जितगढी) युद्द संग्राहलय निर्माण हुदै

 

लक्ष्मी श्रेष्ठ
बुटवल : रुपन्देही जिल्लाको बुटवल उप महानगरपालिका वडा नं.१ बुटवल बजारमा बटौली (जितगढी) युद्द संग्राहलय निर्माणको काम शुरु भएको छ ।

नेपाल सरकार र बुटवल उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण हुन लागेको उक्त संग्राहलयको कुल ९ करोड ४६ लाख ८७ हजार १ सय ६४ रुपया लागत स्टिमेट गरिएको थियो । तर टेन्डर आह्वान गरिसकेपछी ६ करोड ८२ लाख ५० हजार २ सय ५६ रुपयामा शिबशक्ति कन्सट्रक्सन कम्पनी प्रा.लि. ले निर्माणको जिम्मा लिई निर्माण कार्य शुरु गरिरहेको छ ।

२०७७ साल माघ २६ गते बाट निर्माणकार्य शुरु गर्ने स्वीकृति पाएको यस कन्सट्रक्सन कम्पनिले काम शुरु भएको २ बर्ष भित्र संग्राहलय निर्माण सम्पन्न गरि उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने समेत जनाएको छ ।
संग्रहालय भवन चार तलाको बन्ने छ । पहिलो, दोस्रो, तेस्रो तलामा संग्रहालय र चौथो तलामा परम्परागत खानाको परिकारसमेत पाइने गरी क्याफे रहनेछ । यस्तै तल्लो तलामै बुटवललाई चिनाउने विभिन्न किसिमका सामाग्री र मायाको चिनो राखिएको शोभिनियर सप रहनेछ । सम्झौता अनुसार २०७९ साल माघ २५ गते संग्रहालय निर्माण पूरा गर्नुपर्ने भएपनि सो अगावै काम सक्ने निर्माण कम्पनी शिवशक्ति कन्स्ट्रक्सन प्रालिले बताएको छ।हाल कम्पनीले धमाधम काम गरिरहेको छ ।

पुरातात्विक महत्व बोकेको रुपन्देही जिल्लाको बटौली अथवा हालको बुटवल बजारमा यस संग्रहालय बनेपछि बटौलीको झन महत्व बढ्ने बुटवल उपमहानगरपालिका वडा नं.१ समयदेवी टोलका टोल सुधार समिति अध्यक्ष देबेन्द्र लाल श्रेष्ठले बताए ।