शिक्षा समन्वय ईकाइ र पालिकाहरुलाई अखिल (क्रान्तीकारीको) १८ बुँदे ज्ञापनपत्र

तुलसीपुर :नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी दाङले जिल्लाका शैक्षिक निकायहरुलाई विभिन्न मागसहितको ज्ञापन पत्र बुझाएको छ । आइतबार शिक्षा विकास तथा समन्वय ईकाइ दाङ र १० वटै पालिका स्तरीय शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुखहरुलाई १८ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

हालसम्म पनि शिक्षा क्षेत्रमा कोरोना विरुद्धको खोप नपुगेको भन्दै विद्यार्थी र शिक्षकलाई पहिलो प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप लगाईनुपर्ने, भौतिक रुपमा पठनपाठन सञ्चालन गर्नुपर्ने, कोरोना संक्रमणका कारण ज्यान गुमाएका शिक्षक तथा विद्यार्थीहरुको परिवारतलाई राहतको व्यवस्था गर्नुपर्ने, संक्रमित विद्यार्थी तथा शिक्षकहरुको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने लगायतका विभिन्न मागसहितको ज्ञापनपत्र बुझाइएको अखिल(क्रान्तिकारी) दाङका अध्यक्ष अमर खड्काले बताए।

खड्काको हस्ताक्षरित ज्ञापनपत्र मार्फत लामो समयसम्मको जारी गरिएको वन्दावन्दीका कारण शैक्षिक क्षेत्र प्रत्यक्ष मारमा परेको भन्दै शैक्षिक शत्रको सुरुमै विद्यार्थीहरुले पाठ्यपुस्तक पाउनुपर्ने व्यवस्थाको पुर्ण ग्यारेन्टी गरिनुपर्ने माग गरिएको छ ।

यस्तै अनावश्यक शिर्षकमा संस्थागत तथा सामुदायिक बिधालयहरुले अभिभावक तथा विद्यार्थीहरुबाट मनोमानी ढंगले लिइएको शुल्क फिर्ता गर्नुपर्ने, शिक्षक कर्मचारीहरुलाई पारिश्रमीक नदिने विद्यालयको छानविन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, सरकारी कर्मचारी, शिक्षक तथा वहालवाला वा पुर्व सांसद तथा मन्त्री, जनप्रतिनिधी र अन्य सरकारी कर्मचारीका छोराछोरीहरुलाई अनिवार्य सरकारी तथा सामुदायीक विद्यालयमा पढाउनुपर्ने वाध्यात्मक व्यवस्था गरी यहि शैक्षिक शत्रबाट लागु गर्नुपर्ने लगायतका मागहरु ज्ञापन पत्रमा उल्लेख छ ।

यस्तै राज्यद्वारा घोषणा भएको बैकल्पिक शिक्षण पद्धतिमा भएका बिकृतीको नियन्त्रण गरि विद्यार्थीको पहुँचमा पुर्याउन प्राबिधिक सामाग्रीको उचित र निशुल्क ब्यबस्था गर्नु पर्ने लगायतका मागसहितको ज्ञापनपत्र बुझाईएको हो ।