नेत्रावती डबजोङ्ग गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

रेश्मा बिसुङ्के,
धादिङ्ग :धादिङ्ग जिल्लाको नेत्रावती डबजोङ्ग गाउपालिकालाई सिङ्ला पर्यटन क्षेत्र बिकास समाज, धादिङ्गले स्वास्थ्य उपकरणहरु साथै कोभिडको उपचार तथा रोकथाममा उपयोगी हुने स्वास्थ्य सामाग्रीहरु आज गाउँपालिकाको कार्यलयमै लगि हस्तान्तरण गरेको छ ।

धादिङ्ग जिल्लाको बिकट उत्तरी भेगमा रहेको नुवाकोट संग सिमाना समेत जोडिएको गाउँपालिकाको कार्यालय सेमजोङ्गमा एक हस्तान्तरण कार्यक्रम आयोजना गरि गाउँपालिका बासीहरुलाई कोरोना रोकथाम तथा उपचारमा उपयोग हुने स्वास्थ्य उपकरण लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

हस्तान्तरण गरिएका सामाग्रीहरुमा अक्सिजन कन्सन्ट्रेटर १ वटा, अक्सिजन सिलिण्डर २ वटा, पल्स अक्सिमिटर १५ वटा,क्सिजन रेगुलेटर २ वटा, अक्सिजन मास्क १ वटा, थर्मल गन २ वटा, सिलिण्डर रेन्ची १ वटा, एन ९५ मास्क ५०० वटा ,सर्जिकल मास्क एडल्ट १५०० वटा, सर्जिकल मास्क पेडियाट्रिक ५०० वटा, फेस शिल्ड एडल्ट गोटा १५, फेश शिल्ड पेडियाट्रिक गोटा १०, पिपिई सेट २५ वटा , स्यानिटाईजर ५०० मि.लि. १० वटा, स्यानिटाईजर १०० मि.लि. वटा ५० र पेन ब्याट्री गोटा ३ रहेको गाउपालिकाबाट स्वास्थ्य शाखा प्रमुख तथा सुचना अधिकारी कृष्ण बद्री पौडेलले जानकारी दिए।

विभिन्न संघ सस्थाहरुबाट स्वास्थ्य उपकरणहरु तथा सामाग्रीहरु सहयोग प्राप्त भईरहेको र गाउँपालिकामा पनि ५-५ बेड क्षमताको आईसोलेसन सेन्टर तथा पालिका स्तरिय अस्पताल निर्माणको काम समेत अन्तिम चरणमा पुगेकोले ती उपकरण तथा सामग्रीहरु उपयोगी हुने समेत सुचना अधिकारी पौडेलले बताए।

उक्त हस्तान्तरण कार्यक्रममा नेत्रावती डबजोङ्ग गाउपालिकाको तर्फबाट अध्यक्ष दुर्ग कुमार शाक्य, उपाध्यक्ष उर्मिला तामाङ्ग तथा सिङ्ला पर्यटन क्षेत्र बिकाश समाजका तर्फबाट प्रतिनिधि दिनेश तामाङ्गको उपस्थिति रहेको थियो ।