चितवन निकुञ्जमा गैंडा तस्करीका फरार अभियुक्त पक्राउ

 

चितवन :गैंडा तस्करीमा संलग्न एकजनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैंडाकोट घर भएका खड्कबहादुर गुरुङ रहेका छन् । निकुञ्जको चोरी शिकार नियन्त्रण एकाइले गुरुङलाई पक्राउ गरेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गैंडाकोट नगरपालिका वडा नं ३ ढोडेनीका ३२ वर्षीय सोमा र मिनबहादुर गुरुङ भनिने खड्कबहादुर गुरुङलाई पक्राउ गरिएको हो ।

चोरीशिकार नियन्त्रण विशेष टोली, नेपाली सेना र गैंडाकोट इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले गुरुङलाई पक्राउ गरेको अधिकारीले बताए ।

गुरुङलाई चार वटा चोरीशिकार घटनामा संलग्न रहेको आरोपमा तीन मुद्दा परेको छ । उनीविरुद्ध जिल्ला अदालत नवलपुरमा दुई वटा र जिल्ला अदालत चितवनमा एक वटा मुद्दा रहेका छन् । विसं २०७७ भदौं १६ र १८ गते भएको गैंडाको चोरी शिकारीमा हतियार उपलब्ध गराउने र आफैँ सुटसमेत गर्ने उनै भएको अधिकारीले जानकारी दिए ।

उनी फरार रहँदै आएका अधिकारीले भने,’उनको साथबाट बन्दुकमा प्रयोग हुने बारुद १२ पोका, बन्दुकको बेयरिङ १५ थान, भरुवा बन्दुकमा प्रयोग हुने रडसमेत बरामद गरिएको थियो ।’ योसँगै चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले २६ जना तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । तीमध्ये २२ जना हालसालैका घटनाका र चार जना फरार रहेको अधिकारीले बताए ।