माहात्मा गान्धीलाई नाथुराम गोड्सले मारेझैं केपी शर्मा ओलीलाई मार्नुपर्छ र मार्छु :वैद्य

काठमाडौं :वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भनेर आपत्तीजनक अभिव्यक्ति दिएका छन् ।

शुक्रबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको बताएका हुन् । नाथुराम गोड्से तिनै व्यक्ति हुन् जसले महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए ।
आफ्ना धारणा राख्न ६ मिनेटको समय पाएका वैद्यले भने, ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि ।’ उनले आवश्यक परे आफैँ पनि गोड्से बन्न तयार रहेको बताएका छन् ।

वैद्यले यस्तो अभिव्यक्ति दिंदा पनि प्रदेशसभामा न कसैले नियमापत्ती जनायो, न त सभामुखले नै रोके । संसदमा आपत्तीजनक वा अमर्यादित अभिव्यक्ति आए रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिन सक्छन् ।

वैद्यको चौतर्फी विरोध, आत्मालोचना गर्न कांग्रेस प्रवक्ताको निर्देशन

उनको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको छ । उनले सार्वजनिक रुपमा यो अभिव्यक्ति फिर्ता लिन पनि आग्रह गरिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वैद्यले संसदमा संयम गुमाएको टिप्पणी गर्दै आत्मालोचना गर्न निर्देशन दिएका छन् । ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न । आवेगको बोली र व्यवहार ‘भावनात्मक उत्तेजना’ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन,’ शर्माले ट्वीट गरेका छन् ।

वैद्य काठमाडौं क्षेत्र नं.४ (क) बाट बाग्मती प्रदेशसभामा काँग्रेसबाट निर्वाचित सांसद हुन् । उनी पशुपति क्षेत्र विकास कोषको पूर्व कोषाध्यक्षसमेत हुन् ।

एमालेद्धारा बैद्यलाई पक्राउ गर्न माग

एमाले बागमती प्रदेशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएका नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम बैधलाई पक्राउ गर्न माग गरेका छन् ।

बागमती प्रदेशका एमाले अध्यक्ष आनन्द पोखरेलले विज्ञप्तिमार्फत् बैधलाई तत्काल नै प्रदेश सभाबाट निलम्बन गरी कारबाही गर्न माग गरेका हुन् । पोखरेलले यसमा गम्भीर षड्यत्र लुकेका कारण आयोग बनाइ दोषीहरू पत्ता लगाउनसमेत आग्रह गरेका हुन्। ‍’एक शक्तिशाली आयोग बनाई तथ्य सत्य पत्ता लगाई सार्वजनिक गर्न नेपाल सरकार र प्रदेश सरकारसँग जोडदार माग गर्दछु । हत्या जस्तो गम्भीर अपराधको वकालत गर्ने सबैलाई कानुनको दायरामा ल्याउन अनुरोध पनि गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

शुक्रबार बैद्यले प्रदेश सभाको बैठकको रोष्टममा ऊभिएर माहात्मा गान्धीलाई नाथुराम गोड्सले मारेझैं केपी शर्मा ओलीलाई मार्नुपर्छ र मार्छु भन्दै दिएको अभिव्यक्ति निकै विवादित बनेको थियो ।

अध्यक्ष पोखरेलले ओलीविरुद्ध केही दलका नेता तथा कार्यकर्ताहरूले भौतिकरुपमा आक्रमण गर्न सक्ने सुचना आफूहरूलाई प्राप्त भएको समेत बताएका छन् । देशको प्रधानमन्त्री जस्तो पदमा रहेको बेलामा यी र यस्ता खालका हर्कत नहुन सक्छ भन्न पनि सकिदैन।र पदमा आशिन व्यक्तिले पनि आफूलाई सच्याएर अगाडि बढ्नुको विकल्प छैन ।अहिले यो बिषयले सामाजिक सञ्जाल निकै तात्तिएको छ ।