धादिङको रुवीभ्याली गाउँपालिकाको लापामा रहेको आइसोलेसनलाई स्वास्थ्य सामाग्री सहयोग

देवकी पौडेल

धादिङः धादिङको रुवीभ्याली गाउँपालिकाको लापामा रहेको आईसोलेसनलाई जनजाति कल्याण आश्रम नेपाल एवं सेवा इन्टरनेशनल नेपालले विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ ।

जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय संगठन सचिव मिलन भट्टका अनुसार कोभिड महामारी रोकथामका लागि गाउँपालिकाले लापामा सञ्चालन गरेको १५ शैयाको आईसोलेसनका लागि मेट्रेस, सिरानी, आईबी स्ट्याण्डसहितको १० सेट मेडिकल फोल्डिङ बेड र १० लिटर क्षमताको एउटा र पाँच लिटर क्षमताको चार गरी जम्मा पाँचवटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो ।

सहयोग स्वरूप प्रदान गरिएको सामग्री रुवीभ्याली गाउँपालिकासम्म लगेर हस्तान्तरण गर्न गाउँपालिका एवं सिङ्ला पर्यटन क्षेत्र विकास समाजका प्रतिनिधिसँगै भट्ट रुबीभ्याली पुगेका थिए ।

काठमाडौँबाट धादिङ बेसी हुँदै बोराङसम्म सवारी साधनमा ढुवानी गरिएको सामान बोराङबाट बोकाएर लापा माविमा सञ्चालित आइसोलेशन सेन्टरमा पुर्याइएको मिलन भट्टले जानकारी दिए । धादिङको १३ वटा स्थानीय तह मध्ये रुवीभ्याली गाउँपालिकामा अझै सम्म सडक सञ्जाल जोडिन सकेको छैन । सडक निर्माण कार्य भने भईरहेको छ ।

यससँगै आवश्यक औषधि सहितको पाँच सय थान मेडिसिन किट तयार रहेको र आगामी कार्यक्रममा हस्तान्तरण गरिने सेवा इन्टरनेशनल नेपालका प्रोजेक्ट कोओर्डिनेटर प्रसन्न वैद्यले जनाएका छन् । रुबी भ्याली गाउँपालिकाको कोभिड अस्पतालमा उपचाररत विरामी तथा तिनका कुरुवा समेतलाई गरी आगामी एक महिनाको भोजन व्यवस्था पनि सेवा एवं कल्याण आश्रमका तर्फबाट गरिने भएको छ ।

सेवा इन्टरनेशनल नेपालले हिन्दू स्वयंसेवक संघ नेपाल संगको सहकार्यमा काठमाडौँ, नेपालगञ्ज, भैरहवा, लमजुङ लगायतका स्थानमा पनि अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरूप पठाइसकेको छ भने महेन्द्रनगरस्थित महाकाली अस्पताललाई एक महिनासम्म अक्सिजन आपूर्तिमा सहयोग पठाइरहेको जानकारी मिलन भट्टले दिए ।