क्रेनले हाई टेन्शन लाइनमा छुँदा सोलुखुम्बुमा दुई जनाको मृत्यु


सोलुखुम्बु :सोलुखुम्बुको पत्तालेमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा लोबेडका चालक बाग्लुङका २६ वर्षीय भूमिराज मरासिनी र क्रेनका चालक स्याङजाका २४ वर्षीय रामबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा मृतक परियारका श्रीमती लीला परियार र गुल्मीका वसन्त पौडेल रहेका छन् ।

घाइतेमध्ये पौडेलको अवस्था सामान्य छ भने परियारको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कटवालले जानकारी दिएका छन ।

डीएसपी कटवालका अनुसार आज (शुक्रवार) बिहान साढे आठ बजेतिर ग १ क ५१ ७३ नम्बरको लोबेडमा लोड गरेर लगिएको क्रेनले हाई टेन्शन लाइनको तारमा छोएको हो । करेन्ट लाग्दा गाडीमा आगलागी भएको प्रहरीले जनाएको छ । सोलु हाइड्रोपावर आयोजनाको क्रेन पोखरा मर्मतका लागि लैजाँदै गर्दा दुर्घटना भएको बताइएको छ ।