गण्डकीका खेलकुद मन्त्री दीपक मनाङे बर्खास्त

काठमाडौं :गण्डकी प्रदेशको कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ दीपक मनाङेलाई हटाएका छन । सरकारका बहालवाला मन्त्रीले नै सरकारलाई विश्वासको मत नदिएको भन्दै कामचलाउ मुख्यमन्त्री गुरुङले मनाङेलाई हटाएका हुन ।

गुरुङले बिहीवार (हिजो) बेलुकी नै मनाङेलाई मन्त्रीबाट बर्खास्त गरेर प्रदेश प्रमुखलाई जानकारी गराइ सकेका छन। हिजो विश्वासको मत लिँदा मन्त्री मनाङे प्रदेश सभा बैठकमा अनुपस्थित भएका थिए ।

कामचलाउ मुख्यमन्त्री गुरुङको पत्र

यस्तै मन्त्री पदबाट बर्खास्त भएपछि मनाङेले पनि राजीनामा पत्र सार्वजनिक गरेका छन । उनले राजीनामा पत्र आज मुख्यमन्त्री गुरुङलाई बुझाउँदै छन ।

दीपक मनाङेको राजीनामा पत्र

राजीनामा पत्रमा उनले विश्वासको मत नपाएको सरकारका मन्त्री हुन नैतिकताले नदिने र अब आफूले विपक्षी गठबन्धनलाई साथ दिने बताएका छन । राजीनामा पत्रमा मनाङेले प्रदेश सभालाई विघटनमा जान नदिनका लागि पनि आफूले विपक्षी गठबन्धनलाई साथ दिने निर्णय गरेको बताएका छन ।

मनाङ ‘ख’ बाट निर्वाचित दीपक मनाङेलाई मुख्यमन्त्री गुरुङले केही दिनअघि मात्रै मन्त्री बनाएका थिए ।

मनाङेले अब आफूले कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सहयोग गर्नेसमेत घोषणा गरेका छन । मनाङेले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद् विघटन गर्ने योजना बनाएपछि संसद् जोगाउनका लागि विपक्षी गठबन्धनमा उभिने घोषणा गरेको उनको भनाइ छ ।

सांसद मनाङेले साथ दिएमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्रको नेतृत्वमा गण्डकीमा नयाँ सरकार गठन हुने देखिएको छ ।