कविता :महिषासुर बध

   न्यायकालागि साहित्यिकआन्दोलन


हे दुर्गा माता झट्टै आऊ न
महिषासुरले विध्वंस पार्यो मेरो बस्ती
तिम्री छोरी …..तिम्री बैनी
तिम्री साथी …..तिम्री भाउजु
लतारी लतारी कुट्न थाल्यो !

को हो त्यो पापी जस्ले पठाइरहन्छ
एक हुल महिषासुर यो सुन्दर बस्तीमा …..
तिम्री चेलीको चोखो अस्तित्वमा आगो लगाउन !
किन दियौ मात्र दुइटा हात मलाई

हे माता….!
एकपटक हतियार धारी बनाइदेउ न
किन रित्तो हात पठायौ मलाई !!!
एकपटक रणचण्डी बनाइदेऊ न
किन साबित्री बनाएर पठायौ मलाई !!!

**************
अस्ति सुस्मितालाई कोपरे
हिजो सबितालाई निमोठे
कहिले निरू
कहिले भागिरथी
कति सम्मको दुस्साहस ….

आज बिच सडकबाट तिम्रा छोरीहरुलाई
कानुनको मोटो लट्ठी बर्साएर घाइते पारे ….!
हे दुर्गा माता झट्टै आऊ न …..
आमाको गर्भको छोरी कोतर्ने हातले आज
राउटे बस्तीमा अस्मिता कोपर्न थाल्यो !
लौ न आमा त्यो पापी झुसिल्किरो चढिसक्यो

कलिलो फूलको पत्रमा
सुन त फूलको चित्कार ….
शायद न्यायको घन्टीले
नारीत्वको टाउको ठोक्दा
त्यो आवाज बिलीन भयो होला !

आमा मेरो छाती चर्कियो ….
मलाई रिंगटा लाग्यो …..
म सक्दिनँ …..
मेरै काखमा ति कलिला शरीर
निर्बस्त्र पछारिएको हेर्न !
म सक्दिनँ ….

मेरै छातीमा ति पवित्र फूलहरू
रूँदै रूँदै च्यातिएको हेर्न !
म के गरूँ आमा सासै फेर्न गारो भो !
म रक्षा गर्न सकिनँ तिम्री निरूको
म रक्षा गर्न सकिनँ तिम्री भागिरथीको
म रक्षा गर्न सकिनँ तिम्री सुस्मिताको
हेर त आज फेरि म हारेँ ……..
म रक्षा गर्न सकिनँ तिम्री सबिताको

हेर न ममाथि सारो बुट बजार्नेले
छोरीको लाश सुम्सुम्याउने हात नै कुचिदियो ।
मेरो छातीमा बन्दुक तेर्र्स्याउनेले
छोरीको सास नपाउने छातीनै चर्काइदियो !
मेरो आँखाको ज्योति खोस्नेले

छोरीको बियोगमा नदी बनेका आँखानै निभाइदियो !
यो कस्तो न्याय को नियम हो ……?
यो कस्तो कानून र बिधान हो…….?
पीडक गोमन बनेर मुसा मारिरहन्छ ओडार भित्रबाट
र झनै शिर थप्दछ !
हेर त रावणको दसवटा शिर !

पिडित मुसा बनेर आँसु र रगतले भिजिरहन्छ
र शिकार बनिरहन्छ तिम्री छोरी चेलीजस्तै ….
हेर त मेरो छातीमा कलिला लाशहरूको थुप्रो
सुन त मेरो बस्तीमा दर्दनाक पीडा र क्रन्दन !!!
कतै कौरवराज्यमा द्रौपदीको चिरहरण त होइन !!!
कतै दानवराज्यमा सिताको अग्निपरीक्षा त होइन !!!

लौ न दुर्गा माता झट्टै आऊ …..
देखाइदेऊ न तिम्रो अजेय शक्ति
मात्र एकपटक ….
मलाई म धर्ती भएकोमा गर्व गर्ने मन छ !
म नारी भएकोमा गर्व गर्ने मन छ !
मलाई मेरो बस्तीका छोरी चेलीको
ओठमा हाँसो हेर्ने मन छ !

मलाई मेरो छातीमा कलिला फूलहरू
स्वच्छन्द लहराएको हेर्ने मन छ
मलाई मेरो बस्तीमा
दुर्गाले शासन चलाएको हेर्ने मन छ
तिम्रा हातले महिषासुर बध गरेको हेर्ने मन छ !!!