खोपमा अनियमितता :कोहि काखा, कोहि पाखा

 

उमा भण्डारी

दाङ :तुलसीपुर–५ का ६२ वर्षीय विष्णुकमार श्रेष्ठले कोरोना विरुद्धको खोप लगाउन विहानै ७ बजे तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा पुगे । खोप कार्ड पनि बनाए । करीव ४ घण्टा लाईनमा बसेपछि उनलाई खोप लगाउनका लागि खोप कक्षमा पठाईयो । तर उनले खोप लगाउन पाएनन् । उनले खोप लगाउने जिम्मा पाएका एक जनाले खोप लगाउन पाउनु हुदैन भनेर पठाइ दिए ।

६२ वर्ष उमेर पुग्न केहिदिन बाँकी रहेको भन्दै स्वास्थ्यकर्मीले खोप नलगाईदिएपछि खोप नलगाएर उनी घर फर्किएको बताए । ‘४ घण्टासम्म लाईनमा बस्न लगायर उमेर पुगेन भनेर घर फर्काए, उनले भने– लगाउन नै नमिल्ने भए कार्ड किन बनाईदिएको हो?’ अनि लाइनमा किन बसालेको पहिले नै भनेको भए त्यो कष्ट सहने थिइन ।

उमेरले ६३ वर्ष पुगेका तुलसीपुर–१ निवासी जिवलाल न्यौपाने कोरोना विरुद्धको खोप लगाउनका लागि बुधवार विहानै राप्ती प्रादेशिक अस्पतालमा पुगे । दिर्घरोगी त्यसैमाथी मुटुको शल्यक्रिया गरेका उनलाई वडाले तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा खोप लगाउन सिफारीस गरेपछि उनी सिफारीसका आधारमा उक्त अस्पताल आएका थिए । न्यौपाने विहान ११ वजे देखि खोपको पालो कुर्दै रुखको छहारीमा बसिरहे । तर बेलुका ५ बजेसम्म पनि खोप लगाउने पालो आएन ।

यस्तै तुलसीपुर–६ का ६३ वर्षीय दुर्गा प्रसाद न्यौपाने पनी कोरोना बिरुद्धको खोप लगाउन विहान १० बजे नै अस्पतालमा पुगे । सरकारले ६२ देखि ६४ वर्ष उमेर समुहका बृद्धबृद्धाहरुलाई कोरोना विरुद्धको खोप लगाउने भनेको सुचनाका आधारमा नागरिकता लिएर अस्पताल पुगेका थिए । तर ७ घण्टा वितिसक्दा पनि उनको पालो भने आएन ।

दुर्गाप्रसाद र जिवलाल जस्तै ६२ देखि ६४ वर्ष उमेर समुहका व्यक्तिहरु दिनभर पालो कुरेर लाईनमा बसिरहे । कतिले खोप लगाए कति त्यतिकै फर्किए । तर २५/३० वर्षका व्यक्ति खोप लगाउँदै जाँदै गरिरहे । तर उनीहरुको पालो आएन उल्टै स्वास्थ्यकर्मीलाई बुझाएको नागरिकता र नागरिकताको फोटोकपी समेत हरायो भनेर लुकाइयो ।

‘खोप लगाउने भनेर नामदर्ता गर्दा नागरिकता र फोटोकपी दिएको थिए,त्यो अहिले भेटिदैन, दुर्गाप्रसादले भने–हामीलाई दिनभर लाईनमा बसाउने, तर २५/३० वर्षकालाई भने खोप लगाउँदै पठाउँदै गर्ने? यो कस्तो नीति हो? उनले भने, ’ पहुच हुनेले जे गरे पनि हुने हो ?

अस्पतालका कर्मचारीहरुको कमजोरीका कारण बृद्धबृद्धाका लागि उपलव्ध खोप अन्य उमेर समुहका व्यक्तिले लगाउने गरेको उनले बताए । आफुहरुलाई लाइनमा बसाएर अन्य उमेर समुहका व्यक्तिलाई खोप लगाउँदा भिडभाड बढ्नुको साथै संक्रमणको जोखिम र आफुले बुझाएका परिचयपत्रहरु समेत हराएको जिवलाल न्यौपानेले बताए ।

राजनीतिक पद, पावर र शक्तिका आधारमा सेवा प्रवाह गर्ने प्रवृतिका कारण यसरी खोपमा अनियमितता बढेको उनी बताउँछन् । जिल्लामा पहुचवाला व्यवसायी, र व्यक्तिहरुले विभिन्न क्षेत्रका खोप केन्द्रमा गएर खोप लगाएका छन । सरकारले ६२–६४ तोको छ तर दाङमा त्यो भन्दा कम उमेरका व्यक्ति र युवाले धमाधम खोप लगाएका छन । खोप लगाएका हरुले अधिकासले आफै खोपको कार्ड सार्वजनिक गरिरहेका पनि छन । स्वाथ्यकर्मचारीको लापरबाहीले लक्षित वर्ग भन्दा फरक व्याक्तीहरुलाई खोल लगाइएको गुनासो अहिले अत्यधिक भइरहेको छ ।

स्वास्थ्य कार्यालय दाङका अनुसार जेठ २५ र २६ गते जिल्लाभरका करीव ८ हजार बृद्धबृद्धाहरुलाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य थियो । तर जिल्लाभर ७ हजार ६सय ५१ जनाले मात्र कोरोनाको खोप लगाएका छन् । त्यो पनि तोकेको भन्दा फरक उमेर समूहको समेत गरेर हो । यसमा १५ देखि २० प्रतिसत सम्म तोकेको भनदा फरक उमेर समुहका व्यक्तिले खोप लगाएको अनुमान गरिएको छ । विभिन्न स्वास्थ्य संस्थाहरुमा खोपमा अनियमितता भएको भनिएपनि स्वास्थ्यकर्मीहरुबाट कुनैपनि अनियमितता नभएको स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले बताए ।

हरेक खोप केन्द्रमा राजनैतिक दबाव, संस्थागत दबाव, नागरिक समाज, विभिन्न सामाजिक संघसंस्थाहरुको दबाव धेरै आउने भएकाले लक्ष्य अनुसार खोप लगाउन नसकिएको उनी बताए । स्वास्थ्यकर्मीहरुले त्यो मेरो, त्यो मेरो भनेर खोप लगाईदिने गरेका छैनन्, उनले भने–‘ स्थानीय जनप्रतिनिधि, संघसस्थाका अगुवाहरुबाट यतिधेरै दबाव आउँछ, कि कसले के गर्ने भन्ने हुन्छ ? हामीले कसरी व्यवस्थापन गर्ने?’

उमेर पुगेका कुनैपनि जेष्ठ नागरिकहरुलाई कोरोना विरुद्धको खोपबाट बञ्चित नगरिएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले बताए । अन्य जिल्लामा पहिलो डोजको खोप लगाइसकेका व्यक्तिहरुले दोश्रो डोजको खोप लगाउन आएकाले आम नागरिकमा गलत बुझाई परेको उनको जिकिर छ । तर यहाँ पहिलो डोजनै युवाहरुलाई खोप लगाइएको छ ।

तुलसीपुर उपमहानगरपालिकामा मात्रै दुईहजार दुईसय खोप बृद्धबृद्धाहरुका लागि जनस्वास्थयले उपलव्ध गराएको थियो ।ज समध्ये दुईहजार एकसय २९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले खोपमा अनियमितता भए/नभएको भन्नेबारे अनुगमन कार्य भइरहेको बताए । जिल्लामा रहेको कोरोना खोप समन्वय समितिले सबै अस्पतालहरुको अनुगमन गरी अनियमितता भएको पाईएमा कसैको आड भरोसामा लक्षित वर्गभन्दा बाहिरका व्यक्तिलाई खोप नलगाउन खोपकेन्द्रहरुलाई शुसुचित गराउने उनले बताए ।