पूर्व महालेखापरीक्षक शताब्दी पुरुष नरकान्त अधिकारीको निधन


हरिराम पौडेल

काठमाडौं :पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ ।
वि.सं. २००१ सालतिर जनसंख्या अधिकृतबाट राष्ट्रसेवकको हैसियतमा काम सुरु गरेका अधिकारीले उपसचिव हुँदै सहसचिव भएपछि राष्ट्रिय योजना आयोगमा काम गरेका थिए । इन्धन संस्थान, टिम्बर कर्पोरेसन र वन पैदावार विकास समितिलाई एकीकरण गरी सोको अध्यक्षको भूमिका निर्वाह गरे । जागिरे जीवनको क्रममा नेपाल सरकारको सचिवमा पदोन्नति भएपश्चात अर्थ मन्त्रालय, कृषि मन्त्रालय र रक्षा मन्त्रालयको कार्यभार सम्हालेका अधिकारीलाई २०४१ सालमा राजा वीरेन्द्रले महालेखा परीक्षकमा नियुक्त गरे ।

२०४६ सालमा बहुदलीय व्यवस्था लागु भएपछि तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको अध्यक्षतामा गठित प्रशासन सुधार आयोगको सदस्यमा नियुक्त भएर नेपालको प्रशासन क्षेत्रको सुधारको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई प्र.म. गिरिजाप्रसाद कोइरालाले पे–कमिसनको अध्यक्षमा नियुक्त गरे । आफ्नो जीवनकालमा नेपाल बैंक लिमिटेडको अध्यक्षको भूमिकामा रहेर तत्कालीन अवस्थामा नेपालमा बैकिङ प्रणालीको सुदृढिकरणमा पनि महत्वपूर्ण योगदान दिए । यसरी २०४७ सालसम्मको प्रशासन यात्रामा रहेका अधिकारीको त्यस पछिको यात्रा भने धार्मिक पुस्तक लेखनमा केन्द्रित रह्यो ।

शिव महिम्न स्तोत्र (२०५३), नारद तथा शाण्डिल्य भक्ति स्तोत्र २०५५, श्रीमद्भागवत स्तुतिपुष्प (२०५७), पतञ्जलि योगसूत्र (२०६१), अमरापुरीभन्दा माथिको नन्दन वन (२०६४), गीताः मैले बुझेका केही कुरा (२०७३) र चिन्तन, मनन, अध्ययन गर्दा राम्रो हुन्छ कि ? (२०६६) जस्ता आध्यात्मिक रसले भरिएका आधा दर्जनभन्दा बढी पुस्तक प्रकाशमा ल्याएका अधिकारी जीवनको उत्तरार्ध सम्म गौ सेवा र अध्ययनमा नै तल्लिन थिए ।
राष्ट्रसेवक बनेको झन्डै आधा शताब्दीको समय अधिकृतदेखि मन्त्रालयको सचिव, महालेखा परीक्षक (संवैधानिक अङ्गको प्रमुख) को भूमिका निर्वाह गरेका अधिकारी कहि कतै घुसखोरी, कामचोरी, ढिलासुस्ती एवं अवगालको कलङ्क नटाँसिएको निष्कलङ्क राष्ट्रसेवक हुन् ।

एकपटक नरकान्त अधिकारी अर्थसचिव भएको बेला साढे दुई किलो असला माछा बोकेर सायद पदोन्नति चाकडीका लागि एकजना कर्मचारी उनको घरमा आएछन् र माछाको झोला कोसेलीको रूपमा छोडेछन् । कसले के ल्यायो भनेर बेलुकी घरमा सोधखोज भएछ । भोलिपल्ट अफिस समय प्रथम सत्रमा तिनै कर्मचारी मन्त्रालयमा पुगेर सचिव नरकान्तलाई भेट्नका लागि नाम पिए कक्षमा टिपाएर उत्साहका साथ भेटका लागि प्रतीक्षामा बसेछन् । केहीबेरमा नरकान्तले निस्केर ‘आउ त‘ भनी उनलाई सङ्केत गरेर आफ्नो मोटरमा राखी घरमा पु¥याएछन् र त्यो छोडेको आफ्नो झोला लिएर गइहाल्नुहोस् भनेछन् । ती कर्मचारी माछाको झोला बोकेर पश्चाताप महसुस गर्दै आफ्नो बाटो लागेका लगायत विभिन्न तरिकाले घुस दिन खोज्ने सेवाग्राहीलाई नरकान्तले गरेका निरुत्साहनका दृष्टान्त पुराना प्रशासकहरुले अझै पनि सुनाउने गर्दछन् ।

१०१ वर्षको उमेरमा हिँडिरहेका अधिकारी विगत केहि समय देखि फोक्सोमा संक्रमण तथा मृगौला रोगको समस्याले ग्रसित रहेका थिए । पिपुल्स होमकेयर, खुमलटार, ललितपुरबाट चौविस घण्टा नर्सिङ सेवा सहित डा. सुलभ देव, डा. रश्मी देवकोटा,नर्स मनिला कुमाल, ल्याव टेक्निसियन कृष्ण प्रसाद भट्ट, फार्मसिष्ट सन्तोष घिमिरे सहितको टिमको प्रत्यक्ष रेखदेखमा घरैमा उपचार गरिएको अधिकारीका कान्छा सुपुत्र शारदाकान्त अधिकारीले भिजन न्युजनेपाललाई जानकारी दिए । विगत केहि वर्ष देखि बुवाको सेवामा नै सक्रिय अधिकारीले बुवाको निधनले एक सच्चा राष्ट्रसेवक गुमाएको बताए । अमेरिकामा रहेका जेठा सुपुत्र रमाकान्त अधिकारी र सुपुत्री बेत्रा अधिकारीले वुवाको निधनमा दुःख र शोक व्यक्त गर्दै नेपालको प्रशासनिक क्षेत्रको एउटा युगको अन्त्य भएको बताए ।


विगत चार वर्ष देखि स्व. अधिकारीको सेवामा रहेकी पुष्पा लामिछाने नरकान्त वुवाबाट यो अवधिमा धेरै कुरा सिक्न पाएको र देशकै लागि योगदान दिएका एक सच्चा राष्ट्रसेवक तथा धार्मिक व्यक्तित्वको सेवा गर्न पाउनु आफ्नो जीवनकै महत्वपूर्ण अवसर भएको बताइन् ।

वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले आँफू संगै पढेको र जागिरे जीवनमा समेत लामो समय सहकार्य गरेको अत्यन्त निकटम मित्र गुमाउनु पर्दा आँफू शोकाकुल भएको बताउँदै यस शोकको घडीमा परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दै भने ‘स्व. अधिकारी एक सच्चा राष्ट्रसेवक थिए ।’

रष्ट्रसेवक कर्मचारीहरुले स्व.अधिकारीको सादगी जीवनबाट थोरै मात्र पनि शिक्षा अनुषरण गर्न सके सेवाको इज्जत,प्रतिष्ठा र मुलुकको सम्मृद्धि हुने थियो । भिजन न्युज नेपाल स्व. अधिकारीको आत्माको चीर शान्तिको कामना गर्दछ ।