सरकारी गाडीभित्र बेहोस भेटिएपछि मृत्यु भएका चालकको रिपोर्ट नेगेटिभ

सुरज माझी
विराटनगर :विराटनगर महानगरपालिका–३ मा सरकारी गाडीभित्र बेहोस अवस्थामा भेटिएर उपचारका लागि अस्पताल लिइसकेपछी मृत्यु भएका चालकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

रिपोर्ट नेगेटिभ आएपछि जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीका चालक ,उदयपुरको बेलका नगरपालिका–३ घर भएका राजु ढकालको मृत्यु कोरोनाका कारण नभएको पुष्टि भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निवासनजिक रोकिएको कार्यालयको प्रदेश १–०४–००१ झ ०००६ नम्बरको गाडीभित्रै उनी मङ्गलबार दिउँसो ३ बजेतिर बेहोस अवस्थामा भेटिएका थिए ।

ढकाललाई उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका हुन् । कोरोना सङ्क्रमण भएको आशङ्कामा नोबेल अस्पतालमै पीसीआर परीक्षणका लागि उनको स्वाब सङ्कलन गरिएको थियो । परीक्षण रिपोर्ट बुधबार नेगेटिभ आएको जानकारी अस्पतालका प्रबन्धक नारायण दाहालले दिए ।

कोरोना सङ्क्रमण नरहेको पाइएपछि मृतकको शव भने पोस्टमार्टम गरेर परिवारका सदस्यलाई दाहसंस्कारका लागि बुझाइसकिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । ‘मृत्यु कोरोनाका कारण भएको हो कि भन्ने आशङ्का थियो ।

रिपोर्ट नेगेटिभ आइसकेपछि त्यो अवस्था रहेन,’ राईले भने, ‘झ्याल र ढोकाका सबै सिसा बन्द गरिएको गाडीभित्रै चालक बेहोस अवस्थामा भेटिका हुन् । सिसा बन्द गरेर गाडीभित्र सुतेपछि निधाएकाले थाहा नपाउँदा निसास्सिएर मृत्यु भएको पनि हुनसक्छ ।’

उनका अनुसार बेहोस अवस्थामा भेटिएका बेला चालकलाई श्वास फेर्न निक्कै गाह्रो भइरहेजस्तो देखिन्थ्यो । उनले मृतकमा स्वास्थ्य सम्बन्धी कुनै पुरानो समस्या थियो कि थिएन भनेर बुझ्ने काम भइरहेको बताए । मृत्युको अरु कुनै कारण हुनसक्ने भएकाले थप अनुसन्धान अघि बढाइएको डिएसपी राईले बताए।