निकोन कर्पोरेशनद्धारा जापानमा क्यामेराको ‘बडी पार्टस्’ उत्पादन बन्द गर्ने घोषणा

विष्णु अर्याल
जापान : क्यामेरामा जापानी उत्पादनको शानको रुपमा रहेको निकोन कर्पोरेशनले जापानमा यस क्यामेराको ‘बडी पार्टस्’ उत्पादन बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले यसै बर्षको अन्त्यबाट जापानमा ‘बडी पार्टस्’ उत्पादन नगर्ने भएको हो । कम्पनीका पदाधिकारीका अनुसार ‘स्मार्टफोन’का सुधारिएको फोटो प्रकारका कारण ‘डिजिटल क्यामेरा’ बजार घट्दै गइरहेकाले यस्तो निर्णय गरिएको हो ।

क्यामेरा उत्पादनमा संरचनात्मक सुधारहरूको अंशको रूपमा क्यामेरा उत्पादनको विशाल कम्पनी निकोनले मियागी प्रिफेक्चरको ‘प्लान्ट’बाट आफ्नो एकमात्र घरेलु क्यामेरा निर्माण ‘साइट’ थाइल्याण्डको प्रमुख कारखानामा स्थानान्तरण गर्ने भएको छ । यस्तो गरिनुमा जापानमा उत्पादन गर्दा लाग्ने उच्च लागत कटौति गर्ने लक्ष्य रहेको बताइएको छ ।

कम्पनीका एक अधिकारीले भने-‘हाम्रा उत्पादनहरू विदेशमा बनाएपनि गुणस्तर उहि बनाईनेछ ।’ निकोन कम्पनी क्यानन ईंकको साथ क्यामेरा उद्योगमा विश्वमा नै सन् १९४८ देखी नै अग्रणी स्थानमा रहँदै आएको छ । कम्पनीले पछिल्ला बर्षहरूमा तीव्र प्रतिस्पर्धाको सामना गरिरहेको छ । गत आर्थिक वर्षमा यसको कुल घाटा ३४ अर्ब ४० करोड येन रहेको गत मार्चमा सार्वजनिक आर्थिक विवरणले देखाएको छ ।

कम्पनीले हालसम्मकै उच्च घाटा व्यहोरेको जनाएको छ । घरेलु हिसाबमा निकोनले केवल ‘डि सिक्स’ मोडल मात्र निर्माण गर्दै आएको छ । एक ‘डिजिटल सिंगल लेन्स रिफ्लेक्स’ क्यामेरा जो शीर्ष ‘मोडेल’को रूपमा चिनिन्छ । पेशेवर ‘फोटोग्राफर’को लागि यो पहिलो रोजाई बन्दै आएको छ । यसको कारखाना उत्तरी पूर्वी जापानी प्रिफेक्चर मियागीको नातोरीमा रहेको छ ।

कम्पनीले कारखाना बन्द गरेपनि कामदारको रोजगार कायम राख्न केही क्यामेरा अंशको उत्पादन जारी राख्ने र स्वास्थ्य सेवा र सेन्सर जस्ता विकास क्षेत्रमा खटाउने बताएको छ । निकोनले यामागाता र फुकुशिमा प्रान्तहरूमा रहेका दुई कारखानाहरू पनि बन्द गर्ने योजना बनाइरहेको छ । दुबै उत्तर पूर्वी जापानमा छन्, जहाँ ‘डिजिटल क्यामेरा’मा परिवर्तन गर्न मिल्ने ‘लेन्स पार्ट्स’ प्रशोधन हुँदै आएको छ ।