बन्दीपुरमा एक हजार एक सय मिटर लामो मिनी ग्रेटवाल बन्दै

तनहुँ:विश्वकै प्रसिद्ध चीनको ग्रेटवालकै झल्को दिने गरी बन्दीपुरमा निर्माण भईरहेको मिनी ग्रेटवालको लागि सङ्घीय सरकारले प्राथमिकता दिएको छ । ग्रेटवालको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार करोड ५५ लाख बजेट निकासी गरिदिएको छ । ठूलो रकम विनियोजन भएपछि पर्यटनले फड्को मार्ने विश्वास पर्यटन व्यवसायीको छ । रकम अभावले काम अघि बढाउन समस्या परिरहेको अवस्थामा सङ्घीय सरकारबाट प्राथमिकतामा परी बजेट निकासी भएपछि बन्दीपुरबासीहरुमा खुसी छाएको छ ।

मन्त्रालयले वजेटको व्यवस्था गरी ग्रेटवाल निर्माणका लागि साझेदारी गर्ने भएपछि बन्दीपुरका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्धन गर्ने उद्देश्यले साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका अनुसार ग्रेटवालको लागि रु चार करोड ५५ लाख बजेट विनियोजन गरेको छ । पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत लागत साझेदारीमा सम्बन्धित स्थानीय तहले रु दुई करोड ४५ लाख व्यहोर्नुपर्ने गरी मन्त्रालयले सात करोड रुपियाँको व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । रकम विनियोजन भएपछि निर्माणकार्य अघि बढाउन सहज भएको अध्यक्ष थापा बताउछन।

सो रकम विनियोजन गरेसँगै ग्रेटवाल निर्माणले मूर्त रुप पाउने वातावरणको सृजना भएको गाउँपालिकाले जनाएको छ । तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङले बजेट निकासी भएको खबर अत्यन्त खुसी लागेको बताउनुभयो । ‘‘पर्यकटकीय दृष्टिले महत्वपूर्ण ठाउँ छनोटमा परेको छ यसले पर्यटन क्षेत्रमा फड्को मार्न मद्धत पुर्याउँछ’’ अध्यक्ष गुरुङले भने। बन्दीपुर गाउँपालिकाको आर्थिक सहयोगमा ग्रेटवाल निर्माणको काम अगाडि बढाइएको थियो । पालिकासँग रकम थोरै भएकोले रकम माग गरिएको थियो ।


मणिमुकुन्दसेन पर्खाल (मिनी ग्रेटवाल) नामाकरण गरिएको यो एक हजार एक सय मिटर लामो बनाइनेछ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरिएको मिनी ग्रेटवाल मुकुन्देश्वरी डाँडासम्म बनाइने छ । प्राकृतिक दृश्य अवलोकन र सुन्दरताको कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माणपछि पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाले ७० लाख रुपैयाँ बजेट निकासा गरेकोमा अपुग हुने भएकोले मन्त्रालयमा माग भए अनुरुप बजेट प्राप्त भएको उपाध्यक्ष गुरुङ बताउछन ।

पदमार्गमा घोडाबाट सवार गर्ने व्यवस्था मिलाइने अध्यक्ष थापा बताउनुहुन्छ । टिकट काटेर घोडाको सवार गरिने हुँदा गाउँपालिकालाई आम्दानी हुने तथा स्थानीय युवाले रोजगार पाउने हुँदा दोहोरो फाइदा हुने विश्वासमा मिनी ग्रेटवाल निर्माण गत वर्षदेखि शुरु गरिएको अध्यक्ष थापा बताउनहुन्छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । मुकुन्देश्वरी डाँडामा सङ्ग्रहालय बनाउने लक्ष्य पनि राखिएको छ । गाउँपालिकाका अनुसार पदमार्ग निर्माणपछि स्थानीय युवालाई घोडा चलाउने तालिम प्रदान गरिने र पर्खाल वरपर फूलबारी निर्माण गरिनेछ ।

काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रहरुको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरुको पनि केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ । मिनी ग्रेटवाल निर्माणले बन्दीपुरमा आउने पर्यटकलाई थप आर्कषण हुने भएकोले बन्दीपुरमा पर्यटक थप वृद्धि हुने अपेक्षा गरिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए । मिनी ग्रेटवाल निमार्ण नौलो काम भएकोले आकर्षक लागेको स्थानीयहरुको भनाइ छ ।

बन्दै गरको पर्खाल देख्दा आकर्षण र नेपालमै नयाँ प्रयोग गर्न लागेकोले नौलौ लागेको व्यास नगरपालिका–१० दुम्सी घर भएका शिक्षक श्रीकृष्ण आचार्यले जानकारी दिए । मिनिग्रेट वालको सरकारले प्राथमिकता दिए ठुलो रकम विनियोजन गरेकोले स्थानीय पर्यटन व्यवसायीहरु उत्साहित भएको बन्दीपुर पर्यटन व्यवसायी समितिका सचिव वसन्त पौडेलले बताए।
गोरखापत्रबाट