गण्डकीमा मन्त्री मनाङे विपक्षी गठबन्धनतिर :कांग्रेस नेता कृष्णचन्द्रको पक्षमा बहुमत जुट्ने सम्भावना

पोखरा :गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सत्ता पक्षको साथ छाडेका छन् । यससँगै नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ ।

१५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदानको तयारी हुँदै गर्दा सम्पर्कविहीन भएको भोलिपल्ट मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाएका थिए । संविधानको धारा १६८(३)अनुसार फेरि मुख्यमन्त्री नियुक्त भएपछि पनि मुख्यमन्त्री गुरुङले सबै मन्त्रीलाई दोहोर्‍याए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले उनले भोलि २७ गते प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।

उनीसँग बहुमत देखिएको छैन । तर राष्ट्रिय जनमोर्चाले पदमुक्त गरेका कृष्ण थापालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि विपक्षीको पनि बहुमत नपुग्ने देखिएको थियो । त्यसले विश्वासको मत नपाएपछि अर्को सरकार नबन्ने भएकाले प्रदेशसभा भंग गरेर मध्यामधि घोषणा गर्ने गुरुङको तयारी थियो ।

तर विश्वासको मत दिने अघिल्लो साँझ बुधबार बोलाइएको मन्त्रिपरिषद् बैठकमा मन्त्री मनाङे अनुस्थित भए । उनी विपक्षी गठबन्धनतिर लागेको पाइएको छ । मुख्यमन्त्री गुरुङलाई साथ दिँदा प्रदेशसभा विघटन हुनसक्ने भएकाले विघटन रोक्न विपक्षी गठबन्धनको पक्षमा उभिएको मन्त्री मनाङेले बताएका छन् ।

सरकार जोगाउनकै लागि मुख्यमन्त्रीले आफूलाई मन्त्री बनाएको, तर सरकार ढल्नेमात्रै होइन, प्रदेशसभा नै विघटन हुने अवस्था आएपछि आफूले साथ छोड्ने निर्णय गरेको मनाङले सुनाए । ‘सरकार जोगिन्छ, संसद विघटन हुन्न भनेर मलाई मन्त्री बनाएका हुन्’ उनले भने, ‘मलाई साथ देउ विघटन गरेर निर्वाचन गरम् भन्छन् । मुस्ताङका दुई सांसद र राजीव पहारी आएका थिए । मैले साथ दिन सक्दिन भनें ।’

जसले सांसद संख्या ३१ पुर्‍याएर आउँछ, उसलाई साथ दिने आफूले बताएको खेलकुद मन्त्री मनाङेले सुनाए । ‘साँझ क्याबिनेट मिटिङ पनि थियो । म आउँदिन, अब मलाई मतलब छैन भनेर गइनँ,’ मनाङले भने, ‘प्रदेशसभा विघटनको कुरा लिएर आउँछ भने म मरे पनि जान्नँ भनेर निस्किएको हुँ ।’

कुराकानीका क्रममा उनले संसद जोगाउन चाहिने ३१ मत पुर्‍याउने जिम्मा आफ्नो भएको समेत दाबी गरे । ‘जसले ३० सांसदको हस्ताक्षर लिएर आउँछ, उसैलाई सहयोग छु तर संसद विघटनको पक्षमा जान्नँ,’ मनाङेले भने, ‘संसद जोगियो भने जो पनि मन्त्री हुन सक्छ, तर संसदै नरहे के मन्त्री बन्नू ?

कसरी मन्त्री बनेका थिए मनाङे ?

मुख्यमन्त्रीविरुद्ध विपक्षी दलहरुले ल्याएको अविश्वास प्रस्तावका लागि बोलाइएको विषेश अधिवेशनमा मतदान हुने भनिएको दिन वैशाख १५ गते राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीसँगै स्वतन्त्र राजीव पनि अनुपस्थित थिए ।

सोही दिन मतदान भएको भए अविश्वासको प्रस्ताव फेल हुने थियो र मुख्यमन्त्री गुरुङ जोगिने थिए । तर आफ्ना सांसद शाही सम्पर्कविहीन भएको भन्दै जनमोर्चाकी सचेतक पियारी थापाले निवेदन दिएपछि सभामुख नेत्रनाथ अधिकारीले अर्को सूचना टाँस नभएसम्मको लागि बैठक स्थगित गरे । त्यसको भोलिपल्ट वैशाख १६ गते मुख्यमन्त्री गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएका थिए ।

प्रमुख परिर्वतन भयो र वैशाख २७ गते अविश्वासको प्रस्तावमा मतदान गर्न कार्यसूची तय भएको थियो । तर अघिल्लो दिनै मुख्यमन्त्री पृथ्वीसुब्बाले राजीनामा दिए ।

मनाङे मन्त्री भएको ११ दिनमै पदमुक्त भए । प्रमुख प्रदेशले दिएको समयमा विपक्षी दलहरु सरकार बनाउन असफल भए र प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेको संसदीय दलको नेता गुरुङ २९ गते फेरि मुख्यमन्त्री नियुक्त भए ।

जेठ ५ गते मन्त्रिपरिषद् गठन गरेका मुख्यमन्त्री गुरुङले मनाङेलाई फेरि मन्त्री बनाएका थिए ।

प्रदेशसभा विघटनको पक्षमा जान्न

सरकारले विश्वासको मत जित्छ भनेर आफूलाई मन्त्री बनाएको तर, अहिले सरकार विघटनतिरै लागेकाले साथ दिन नसकेको मनाङेले बताए । भन्छन्, ‘अहिले चुनावी सरकारमा जाऔं भन्छन्, त्यसरी त संसद र ६० जना सांसद सक्यो नि । ५ जनामा म एक जना थपिएर ६ जनामात्रै मन्त्री भएर हुन्छ ? अरु सांसद के गर्ने ?

मन्त्री मनाङेले एमालेका ३० प्रतिशत सांसदले आफूलाई संसद जोगाउन अनुरोध गरेको उनले बताए । ‘यिनीहरुले फ्लोर क्रस गर्न दिँदैनन् । तपाईंले सहयोग गर्नुपर्‍यो भनेर आइरहेकै थिए,’ उनले भने, ‘प्रदेशसभा विघटनको पक्षमा मरे पनि जान्न, ढुक्क भएर बस्नुस् भनेर म निस्किएको हुँ ।’

एमालेले फकाउन सक्ने भएकाले आफू केही समय चुपचाप बस्ने मनाङेले बताए । ‘म एउटाका कारण सबै सांसदको पद र प्रतिष्ठा बच्छ, संसद बच्छ भने मैले किन निर्णय नगर्ने ? मन्त्री बन्नका लागि कित्ता परिर्वतन नगरेको भन्दै मनाङले भने, ‘संसद विघटन कोरोनाभन्दा पनि ठूलो रोग बन्यो, केन्द्रबाट प्रदेशमा सर्‍यो ।’

सत्तारुढ दल एमालेसँग २७ सांसद छन् । कांग्रेस १५, माओवादी ११ (सभामुखबाहेक), जनता समाजवादीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसद कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन तम्तयार छन् । जनमोर्चाले पदमुक्त गरेर फेरि सर्वोच्चबाट थमौति पाएका कृष्ण थापाले तटस्थ बस्ने प्रतिक्रिया दिएका छन् ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिन्छ । मनाङले विपक्षीलाई साथ दिए संविधानको धारा १६८ (५) अनुसार कांग्रेस संंसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बन्ने पक्का हुने देखिएको छ ।
अनलाइन खबरबाट