

१)
राखिमात्रै रह्यौ भने गुम्सिन सक्छन्- किताबहरू
पुतली झुक्किए जसरी झुक्किन सक्छन्- किताबका पात्रहरू
र, ठोक्किन सक्छन्- सिसाको दराजमा
देखाउनका लागि होइनन्- किताबहरू
कहिलेकाहीँ निकाल
टक्टक्याउ,
सम्बाद गर,
मायाले छातीमा टाँस,
राखि मात्रै रह्यौ भने खुम्चिन सक्छ- चेतना
२)
सानो टीका लगाइदेउ- गाजलकै सहि
अर्को नाना अर्को नाना भन्छन् भने- फेरिदेउ
तिम्रा श्रृङ्गारका सामान लगाउन रहर गरे भने- लगाइदेउ
कार्टुन हेर्छु भन्छन्- हेर्न देउ
ठुला भएपनि तिम्रा कपडा लगाइदेउ र आहा भन !
कहिलेकाहीँ पोख्छन्, बिगार्छन्, भत्काउछन्- मुस्काइदेउ
फुटालिहाले भने तिम्रा चुराहरू- नआत्तिउ
तर,
यत्ती बहानामा उनीहरूलाई नपिट
तिमीले पिटिदियौ भने
तिमी हुँदाहुँदै पनि उनीहरू बेसाहारा हुन्छन्
३)
यो संसारमा तिमीले दुश्मन भनेकाहरूका पनि
बाआमा, छोराछोरी र सानो घर हुन सक्छ
केहि रहेनछ भनेपनि-
उसको आफ्नो जिन्दगी त पक्कै छ
उसलाई मार्ने योजना नबनाउ
बरु उसलाई भेट्दै गर
उसको बारेमा बुझ्दै गर
उसको घर जाउ- बस, बात मार
तिमीलाई उ आफू जस्तै लाग्न थाल्नेछ !
४)
घाउ कोट्याउने काम- सबैभन्दा घातक हुन सक्छ
यो एउटा लत हो
घाउ निको भैसकेको किन नहोस्
जसको बानी परेपछि
तिमी त्यहाँ हात लगेर नकोट्याइरहन सक्दैनौं
कहिलेकाहीँ सम्बन्धमा घाउ लाग्न सक्छ- कोट्याइनरहनु
५)
गल्ती त बच्चाहरूले पनि गर्छन्
यत्ती हो- उनीहरूको गल्तीलाई तिम्रो मायाले जितिदिन्छ
रिसाउन त बच्चाहरू पनि रिसाउछन्
यत्ती हो – उनीहरू रिसाउदा पनि तिमी मुस्काइदिन्छौ
ठुला मान्छेको गल्ती र रिसमा पनि
माया गर्न र मुस्काउन सिक
