बुटवलमा महामारी विरुद्ध स्वास्थ्य सहायता कक्ष सञ्चालनमा

दिपेश राज नेपाल
बुटवल :कोभिड–१९ को महामारी विरुद्धको अर्को अभियान अन्तर्गत बुटवलमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको छ । बुटवल उपमहानगरपालिका र नेपाल स्काउटको सहकार्यमा बुटवलका विभिन्न सार्वजनिक स्थानमा सर्वसाधारण लक्षित स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको हो ।

उपमहानगर र नेपाल स्काउटको बुटवल उपमहानगर समितिको सहकार्यमा बुटवलको हस्पिटल लाइन, राजमार्ग चौराहा र पारी बुटवल मैनाबगरमा कोरोनाबाट जोगिने सूचना सहितको सचेतना कक्ष सञ्चालनमा आएका छन् ।
आम सर्वसाधारणको बढि आवागमन हुने तथा जनघनत्व धेरै भएको स्थानलाई लक्षित गरेर स्वास्थ्य सचेतना जगाउने कार्यक्रमसहित सञ्चालन गरिएको स्वास्थ्य सहायता कक्षको उपमहानगरका प्रमुख शिवराज सुवेदीले शुभारम्भ गरेका छन ।

सोहि क्रममा उनले अत्यावश्यक काम परेर हिंड्ने तथा जानकारी लिन चाहने कुनै पनि नागरिकलाई महामारी विरुद्धको स्वास्थ्य सुरक्षाका उपाय सिकाउन र उपलव्ध स्वास्थ्य सामग्री प्रदान गर्न आग्रह गरे। महामारीको सामना गर्न सबैले स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने र साझा संकल्पका साथ उच्च मनोबल राखेर समर्पित हुनुपर्ने प्रमुख सुवेदीको भनाइ थियो ।

बुटवलले महामारीका विरुद्ध मुलुकमै नमुना कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसैक्रममा स्काउटसंगको सहकार्यमा स्वास्थ्य सहायता कक्ष पनि एक हो । यस्तो कक्षमा स्वास्थ्य सुरक्षाका विषयका जानकारहरु रहने र उनीहरुले प्राथमिक उपचार र उद्दारका विषयमा समेत जानकारी गराउने गरि व्यवस्था मिलाइएको स्काउटका लुम्बिनी प्रदेश प्रमुख दिनानाथ भट्टराईले जानकारी दिए ।
प्रमुख सुवेदीले कोरोना संक्रमण केही घटे पनि जोखिम अझै पनि रहेको भन्दै अभियानमा संलग्नहरुले कोरोनाबाट बच्न स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नुपर्नेमा जोड दिएका छन् ।

सहायता कक्षमा स्वस्थकर्मी सहित अक्सिजन लेभल नाप्ने मेसिन अक्सिमिटर, ज्वरो नाप्ने थर्मल गन, गुणस्तरीय सर्जिकल मास्क, सेनिटाइजर, पानी, पञ्जा, टिसूपेपर लगायतका सामाग्री उपलब्ध छन । बाटोमा हिड्ने जो कोही पनि जोखिममा पर्नबाट जोगाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताउँदै स्काउट प्रमुख भट्टराईले मास्क नभएकालाई निशुल्क प्रदान गर्नेदेखि सचेतनाका कार्यक्रम जारी राखिएको बताए ।

बुटवल उपमहानगरले सञ्चालन गरेका महामारी विरुद्धका अभियानमा विभिन्न सामाजिक संघसंस्था तथा निजी क्षेत्रको समेत सहकार्य रहेको छ । महामारी विरुद्धको लडाइँलाई साझा मानेर सहकार्य गर्ने सबैलाई प्रमुख सुवेदीले धन्यवाद ज्ञापन गरेका छन ।