चितवनमा आज देखि कोरोना विरुद्धको खोप अभियान अन्तर्गत पहिलो मात्राको खोप कार्यक्रम शुरु

बिकल्प श्रेष्ठ
चितवन :चितवन जिल्लामा आज (मंगलबार)देखि कोरोना विरुद्धको खोप अभियान अन्तर्गतको पहिलो मात्राको खोप कार्यक्रम हुँदैछ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाभरिका खोप केन्द्रमा खोप पठाइसकिएको छ । सो खोप कार्यक्रममा मुख्यतः ६२ देखि ६४ वर्षसम्मका वृद्धवृद्धालाई पहिलो मात्राको भेरोसिल खोप लगाइने बताइएको छ ।

जिल्लाका स्थानीय तहभरि कूल ७९ वटा खोप केन्द्र तोकिएको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप लगाउनका लागि जाने व्यक्तिका लागि नागरिकता वा परिचयपत्र अनिवार्य गरिएको छ । परिचयपत्र नभएको खण्डमा वडाको सिफारिसबाट खोप लगाउन मिल्ने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार २५ र २६ गते नियमित तथा छुट्पुटमा परेकाहरूलाई २७ गते खोप प्रदान गरिने छ । लक्षित उमेर समूहका ११ हजार जनालाई सम्बन्धित वडा कार्यलयमा गएर खोप लगाउन मिल्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोप अभियानकाका लागि तीन सय १६ जना स्वास्थ्यकर्मी परिचालित गरिएका छन् । यसअघि चितवनमा भारतीय सरकारले अनुदानमा दिएको कोभिसिल्ड खोप लगाइएको थियो । चितवन जिल्लामा हालसम्म ३९ हजार ८ सय ७९ जनाले कोभिसिल्डको पहिलो मात्राको खोप लगाएका छन् । दोस्रो मात्राको कोभिसिल्ड खोप लगाउनेको संख्या भने १३ हजार १ सय ८९ रहेको छ ।