बजेटको तयारी गर्दै दाङका पालिका

उमा भण्डारी

दाङ :दाङका पालिकाहरु यतिवेला बजेटको पुर्वतयारीमा जुटेका छन् । असार १५ गतेभित्रमा बजेट ल्याईसक्नुपर्ने संवैधानिक प्राबधान भएकाले स्थानीय सरकारहरु बजेटको तयारीमा जुटेका हुन । असार १० गतेसम्म नीति तथा कार्यक्रमहरु पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यहि अनुसार अहिले जिल्लामा रहेका २ वटा उपमहानगरपालिका, एक नगरपालिका र ७ वटा गाउँपालिका बजेटको तयारीमा छन । कतिले तोकेको मिति र कतिले त्यो भनदा पहिले नै निती तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको जनाएका हुन ।

संघिय सरकारले बजेत प्रस्तुत गरेपछि पालिकास्तरीय नीति निर्माण, योजना तुर्जमा, पुर्व योजना तथा बजेटको समिक्षा, उपलव्धी लगायतका विषयमा छलफल एवं खाका तयार पार्ने काममा ब्यस्त रहेको पालिकाहरुको भनाई छ ।

आर्थिक वर्ष २०७७/७८का लागी ल्याईएका नीति तथा कार्यक्रम र बजेटहरु उपलव्धी, कार्यान्वयन, सकारात्मक पक्ष र कमजोरी पक्षलाई पहिचान गर्नका लागि पुर्व समिक्षाको कामहरु भइरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमले बताए ।

उपमहानगरपालिकाले एकहप्तादेखि नीति तथा योजना तर्जुमाको कामलाई अगाडी बढाएको उनले जानकारी दिए । योजना अनुसार बजेट ल्याईने भएकाले वडास्तरमा योजना छनोट तथा सुभाव संकलनको जिम्मा दिइसकेकाले वडाबाट आएका योजनाहरुको आधारमा बजेटको तयारी गरिने उनले जानकारी दिए ।

बहुवर्षीय कार्यक्रम प्राथमिकतामा

विशेषगरी यसवर्ष उपमहानगरपालिकाले बुहवर्षिय योजनाहरुलाई प्राथामिकता दिने बताएको छ । नगरका तुलसीपुर मेट्रो अस्पताल, नगरको प्रशासनीक भवन, गुरुजरुर मावि ,पक्की सडक निमाण लगायतका योजना र उपभोक्ता समितिले गर्ने जनसरोकारसंग सम्वधित कार्यक्रमहरुलाई मुख्य प्राथमिकतामा राखिने उनले जानकारी दिए ।

उपमहानगरपालिकाले नीति निर्माण तथा योजना तर्जूमाका लागि योजना बैँक समेत स्थापना गरेको छ । उक्त योजना बैँक मार्फत पनि योजनाहरु छनोट गरीने उनले बताए । यसैगरी विषयगत समितिहरुसंग छलफल गरेर कुन योजनालाई कसरी परिचालन गर्ने, कति प्राथिमकता दिने भन्नेबारे टुङगो लगाइने उनले बताए । हामीले वडाहरुलाई योजना छनोट र सुझाव सँकलन गर्न पत्राचार गरीसकेका छौँ, उनले भने–‘सबै वडाहरुबाट सुझाव सहितको योजनाको खाका आयोे भने छलफल गरेर सोही अनुसार बजेट ल्याउने छौँ, अहिले सुरुवात मात्रै भएको छ ।’

उपमहानगरले आगामी आर्थिक वर्ष २०७८/७९ मा वडाका योजना र उपभोक्ता समितिहरु मार्फत गरिने योजना जस्तैः पुल निर्माण, पक्की नाला निर्माण, काठेपुल, ह्युम पाईप निर्माण लगायतका योजनाहरुलाई प्राथमिकतामा राख्ने तयारी छ ।

यसैगरी माध्यामिक तहको विद्यालय सञ्चालनका लागि कम्तीमा पाँचजना शिक्षकको सुनिश्चितता गर्ने तलब बृद्धि गर्ने, छात्रबृत्ति उपलव्ध गराउने, घरमै पढ्न सक्नेगरी पुस्तक प्रकाशन गर्ने, शिक्षक आपूर्तीका विषयलाई प्रथामितामा राखेर नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

यसैगरी घोराही उपमहानगरपालिकाले पनि नीति तथा योजना निर्माणको तयारी थालेको छ । उपमहानगरले योजना छनोट तथा सुझाव संकलनका लागि महाशाखालाई पत्राचार गरिसकेको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताए । महाशाखाबाट आएका योजनाहरु विषयगत समितिसंग छलफल गरेर योजना तर्जुमा तथा बजेटको तयारी गरीने बताए । कोरोना महामारी अँझैपनि नियन्त्रणमा नआएकाले सामाजिक विकाश शाखा र पुर्वाधार विकासका योजनाहरु प्राथमिकतामा राखिने जानकारी दिए ।

बवई गाउँपालिकाले पनि बार्षिक योजना र लक्षि वर्गले लाभ लिन सक्ने गरी नीति तथा कार्यक्र सहितको बजेट ल्याउने तयारी गरेको छ । कोभिडलाई लक्षित गरेर कृषि क्षेत्रमा अनुदानका कार्यक्रम, पुर्वाधार विकास कार्यक्रम, विशेष अनुदानका कार्यक्रमहरु ल्याउने तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्म कुमार मल्लले जानकारी दिए । उनका अनुसार आगामी आर्थिक वर्ष २०७८/७९ संघ र प्रदेश सरकारसग समपुरक रहेका योजनाहरुलाई पनि पालिकाले प्राथमिकतामा राख्नेगरी बजेटको तयारी गरेको छ ।

संघीय समपुरक योजना अन्र्तगत गाउँपालिकाको वडा नं। ४ मा रहेको गँगालाल मार्गका लागि केन्द्रको ३ करोड एक लाख र गाउँपालिकाको ३ करोड एकलाख गरी ६ करोड २ लाख बजेट व्यवस्थापन गरी उक्त बजेटलाई गंगालाल र बबई मार्ग निर्माणमा लगाउने योजना रहेको प्रशासकीय अधिकृत मल्ल बताए । तर उक्त योजना निश्चित भने भइससकेको छैन ।

‘सघ मार्फत गंगालालको लागि भनेर बजेट आएको छ उनले भने–‘तर पालिकाले त्यसलाई ससोधन गरी बबई मार्ग पनि समेट्नुपर्छ भनेर भनेको हुनाले योजनाको टुंगो लागेको छैन ।’

यसैगरी पालिकाले संघ मार्फत प्राप्त विशेष अनुदानका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेर नीति तथा योजना निर्माण गर्ने तयारी गरेको छ । फुसको छाना विशेष अनुदान एक करोड ६६ लाख र प्रविधिमैत्री विद्यालयका लागि प्राप्त ४२ लाख बजेटलाई समेत योजनाको प्राथिमकतामा राख्ने भएको छ ।

पालिकाले शिक्षा, स्वास्थ्य, सिचाई लगायतका योजनाहरु पनि प्राथमिकतामा राखेर बजेटको तयारी थालेको उनले जानकारी दिए । यस्तै राजपुर गाउँपालिकाले पनि आगामी वर्षको बजेटको तयारीका लागि पहिलो चरणको बैठक बसिसकेको छ । कोभिड महामारीको क्रासका कारण कर्मचारीहरु कार्यालयसम्म आउने वातावरण नभएकाले बजेट तथा योजना तर्जुमाको तयारी केहि ढिला भएको प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद खनालले बताए ।

लमही नगरपालिकाले पनि असार ९ गते नगरसभा गर्नेगरी बजेटको तयारी गरिरहेको छ । शान्तीनगर गाउँपालिकाले पनि वडाहरुलाई योजनाको खाका तयार गर्नका लागि पत्राचार गरिएको र वडाबाट आएका योजनाहरुको श्रोत अनुमान गरि प्राथमिकताका आधारमा बजेट तय गरीने पालिकाले जानकारी दिएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवन्त बहादुर डाँगीले बजेटको तयारी भइरहेको र तोकेकै मितिमा बजेट ल्याउने तयारी गरिएको बताए ।