सामुहिक चोरी मुद्धामा फरार रहेका चारजना प्रतिवादीहरु पक्राउ

दाङ: दाङमा सामुहिक चोरी मुद्धामा फरार रहेका चारजना प्रतिवादीहरु पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले सोमबार घोराही उपमहानगरपालिका वडा न. १८ ढाडेनीमा लुकिछिपी बसिरहेको अवस्थामा चारजना महिलाहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१८ ढडेनी बस्ने ३६ वर्षकी शान्ती सुनार, सोही ठाउँ बस्ने २५ वर्षकी सन्तोषी नेपाली,३६ वर्षकी चन्द्रकला सुनार र ३५ वर्षकी ज्योति दमाई रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

विसं २०७६ वैशाख ३० गते दाङ देउखुरी जिल्ला अदालतले सामुहिक चोरी मुद्धामा दोषी ठहर गरी प्रतिव्यक्ति जनही पाँचहजार रुपौयाँ र ८ महिना ७ दिन कैद सजाय तोकेको थियो । मुद्धा फैसला भएसंगै उनीहरु हालसम्म फरार रहेका थिए ।