जापानमा अध्ययनरत विद्यार्थीको सहयोगमा ८० घर परिवारलाई खाद्यान्न वितरण


बिकास कार्की
दैलेख :दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ को नुवाकोट र लाइनचौर क्षेत्रमा रहेका अति विपन्न ८० घर परिवारलाई खाद्यन्न वितरण गरिएको छ ।जापानमा अध्ययनरत विद्यार्थीको सहयोगमा उक्त खाद्यान्न सहयोग गरिएको हो।

जापानको क्योटो शहरमा अध्ययनरत चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ का केशव कार्की, लक्षमण शाही संगै सुर्खेतमा अध्ययनरत निराजन शाहीले संयुक्त रुपमा राहत उपलब्ध गराएका हुन् । राहत नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बखत बोहोरा सहितको उपस्थितिमा वितरण गरिएको छ । चामल, दाल, नुन गरेर झण्डै ८० हजार बराबरको राहत वितरण गरिएको विद्यार्थी केशव कार्कीले बताए ।

कोरोना भाइरस ९कोभिड–१९० दोस्रो लहर फैलिए संगै कर्णालीका दैलेख सहितका १० वटै जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । लामो समयको निषेधाज्ञाले गाउँघरमा दिनभर काम गरेर खाने परिवारको दैनिकी केहि सहज बनाउने उद्देश्य स्वरुप सहयोग गरिएको उनको भनाई छ ।

‘कोरोना नेपालमा दिनदिनै बढ्दै गएको समाचारले मन स्तब्ध बनाएको छ,’ कार्कीले भने, ‘यो समयमा आफ्नो गाउँघरको लागि केहि गर्न सकिन्छ । दिनभर काम गरेर खाने पारिवारलाई केहि राहत दिन सकिन्छ भन्ने हिसाबले कमाईको केहि पैसा बचत गरी सहयोग गरेका छौँ ।