भारतिय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं : भारतीय सेनाले नेपाली सेनालाई २४ करोड बरावरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपाली सेनाले शनिवार रुपन्देहीको बेलहिया नाका हुंदै २५ वटा ट्रकमा भारतबाट कोभिड विरुद्धको स्वास्थ्य सामग्री नेपाल भित्र्याएको हो ।

भारतीय सेनाले दिएको स्वास्थ्य सामाग्री लिन नेपाली सेनाले ट्रक भारत पठाएको थियो । सेनाले भारतबाट पहिलो चरणमा कोभिड सम्वन्धि अपरेटिङ्ग हेटलाईट, अटो रिफ्रेक्ट मिटर, बि–प्याड मेसिन, एबीजी मेशिन, ल्याब माईक्रोस्कोप, लाईट क्युरिङ कार्डलेस, आईसियु भेन्टिलेटर, म्यानुअल स्प्रेयर, भाईरस ट्रान्सपोर्ट मिडिया विथ स्वाब, आरडिटी एन्टिजेन किट, एन ९५ मास्क र पिपिई लगायतका सामग्री ल्याएको जनाएको छ ।

भारतले सेनालाई ६ वटा एम्बुलेन्स समेत सहयोग गरेको छ । भारतीय सेनाले नेपाली सेनालाई प्रदान गरेको पहिलो चरणको सहयोग शनिवार आएपनि अरु सहयोग यो हप्ता र अर्को हप्ता दुई चरणमा स्वास्थ्य सामाग्री नेपाल आउने बताइएको छ ।

सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौड्यालले नेपाली सेना र भारतीय सेनाबीचको आपसी सम्बन्धबाट सहयोग आदान प्रदानको नियमित प्रकृया अन्तरगत उक्त स्वास्थ्य सामग्री नेपाल भित्रिएको जानकारी दिए ।

नेपाली सेनालाई यसअघि भारतले एक लाख भ्याक्सिन उपलव्ध गराएको थियो ।