
महिनावारी अर्थात रजस्वला (नेपालामा प्रचलनमा रहेको शब्दहरु नछुने हुनु,परा सर्नु,छुइ हुनु इत्यादी)महिलाहरुमा हुने प्राकृतिक प्रकृया हो । जब छोरी मान्छेहरु बाल्यकालबाट किशोरावस्थामा प्रवेश गर्छन् तब महिनावारी सुरु हुन्छ ।
नेपालमा धर्मिक तथा सामाजिक कारणले गर्दा महिनावारीको खासै कुराकानी हुँदैन । पुरुष मात्रै होइन नेपालमा स्वयं महिलाहरू पनि यस विषयमा खुलेर बोलेको पाइँदैन ।
रजस्वला हुँदा हुने शारीरिक दुखाइ, मानसिक तनाव र हार्मोन परिवर्तनहरू महिलाको स्वास्थ्यसँग सम्बन्धित विषय हो । महिलाहरुको प्रत्यक्ष स्वास्थ्यसँग सम्बन्ध राख्ने यस विषयमा खुलेर कुरा नहुँदा महिलाहरूले धेरै प्रकारको शारीरिक र मानसिक समस्याहरू भोग्नु परिरहेको छ ।
आजभोली शहरी क्षेत्रमा अलिअलि चर्चा हुन थाले पनि विकट गाउँतिर महिनावारीलाई अझै पुरानै दृष्टिकोणले हेरिन्छ । जसको कारण अधिकांश महिलाहरू विभिन्न रोगको शिकार भएर बाँच्न परेको छ भने कतिपयले ज्यानै समेत गुमाउनु परेको छ ।
के हो महिनावारी ?
महिनावारी भनेको प्रजनन प्रक्रियासँग जोडिएको एउटा प्राकृतिक प्रक्रिया हो, जुन १३ देखि १५ वर्ष भित्रमा सुरु हुन्छ ।
हार्मोनसँग सम्बन्धित हुने हुनाले कसैको छिटो पनि हुनसक्छ, तर १५ वर्ष पूरा हुँदा पनि रजस्वला सुरु नभएमा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।
महिनावारी प्रत्यक्ष रुपमा महिलाको स्वास्थ्यसँग सम्बन्धित भएको हुनाले यसको बारेमा सबैलाई जानकारी हुन जरूरी छ । भिजनन्यूजको नियमित शृंखला अन्तरगत हामी यहाँ केही महिलाहरूको अनुभव प्रस्तुत गर्दैछौँ ।
१ परिचय
– संस्कृती रिजाल
– झापा
– विद्यार्थी
२ महिनावारीको पहीलो अनुभव कस्तो थियो ?
मलाई जहाँसम्म याद छ, पहिलोपटक रजस्वला हुँदा म कक्षा ८ मा पढ्थे । उमेरले तेह्र वर्ष थिए । देशमा संविधान सभाको निर्वाचन हुन लागिरहेको थियो । ७० सालतिरको कुरा हो । हिन्दु संस्कारमा पहिलो महिनावारी हुँदा २२ दिनसम्म घरबाट टाढा (आफन्तकोमा) बस्नुपथ्र्यो। तर चुनावको चहलपहलले गर्दा म कतै गएर बस्न सम्भव भएन । घरबाट टाढा जान नमिलेपछि मलाई २२ दिनसम्म एउटा कोठामा बस्न लगाइयो । जसरी पनि संस्कारको जन्जिर भने बाँधियो नै ।
भान्सा, मन्दिर पस्न नहुने । छुने त टाढाको कुरा,२२ दिनसम्म भाइ र बुवाको अनुहार पनि हेर्न नहुने, उहाँहरूको नजिक जाने त कुरै छाडौं। बेला बेला बाहिर निस्किए पनि भाइ र बुवालाई देख्नासाथ भित्र पसिहाल्नु पर्ने । त्यो बेला महिनावारीको पीडाले त्यति दुखेन,जति भाइको नजिक जान नपाउँदा दुख्यो ।
त्यतिबेला म भाइ र बुवाको नजिक किन जानु हुँदैन भन्ने प्रश्न मनमा आउँदै आएन । बरु २२ दिन कहिले पुग्ला जस्तो लाग्थ्यो । भाइको नजिक जाने दिन गन्दा गन्दै २२ दिन बन्द एउटा कोठामा बिताएँ ।
३ ) महिनावारी प्राकृतिक प्रक्रिया हो, तर हाम्रो देशमा धर्म र संस्कृतिसँग जोडेर गरिने व्यवहार कस्तो लाग्छ? अनि यसलाई परिवर्तन गर्न के गर्नुपर्छ होला?
– हाम्रो हुर्काइ महिनावारी हुनु भनेको अछुत हुनु हो भन्ने सिकाइसँगै भयो । भान्सा, मन्दिर पस्यो भने कुल रिसाउँछ, भाइलाई छोयो भने पाप लाग्छ, यस्तै यस्तै सुन्दै हुर्कियौं।
– जब बुझ्दै गएँ आमासँग प्रश्न गर्न थालेँ । रजस्वलाको पीडाले यसै कमजोर बनाइरहेको बेला संस्कारको डोरीले महिलालाई बाँधिन्छ र शारीरिक, मानसिक दुवै किसिमले महिलालाई कमजोर बनाइन्छ । धर्म र संस्कृतिको आडमा महिलालाई यस्तो व्यवहार किन भन्ने प्रश्न भित्रै उत्तर छ ।
– प्राकृतिक प्रक्रिया कसरी धर्म संस्कृतिसँग जोडियो ? रजस्वलाको समय महिलालाई निकृष्ट व्यवहार गर्नु नै धर्म संस्कृतिको उपज हो । हामी हिजो भन्दा आज व्यवहार सुधार भएको देख्छौ । हो सुधार भएको छ । यस अर्थमा कि हिजो छाउ घरमा बस्नु पथ्र्यो, आज घरमा बसिन्छ । तर हामीले चाहेको सुधार परिवर्तन हो, विभेदरहित समाज हो । अझै हाम्रो पुस्तालाई पनि यहि लाग्छ कि महिनावारी हुँदा मन्दिर पस्नु छोइछाइ गर्नु पाप हो । यस्ता कु संस्कृतिको जरो उखेल्न निकै कठिन छ तर असम्भव छैन । एकजना अभिनेत्रीले महिनावारी सम्बन्धमा अभिव्यक्ति दिनुभएको थियो, म चाहीँ बार्छु तर मेरो छोरीलाई बार्न सिकाउँदिन , बार्न हुँदैन भन्ने चेतनमा भएकी अभिनेत्रीको किन यस्तो ?
कारण, हामी प्रश्न गर्न सक्दैनौ ।
जबसम्म आफ्नै घरमा विरोध गर्न सकिँदैन, तबसम्म परिवर्तनको थालानी हुन सक्दैन ।
जब एउटी महिला प्राकृतिक रुपमा सन्तान जन्माउनका लागि योग्य ठहर हुन्छे, त्यो कसरी अछुत ? अनि उबाट जन्मिएको पुरुष कसरी छुत?
४) महिनावारीको विषयमा नेपालमा भएका वहसहरू कत्तिको प्रभावकारी भएका छन?
– महिनावारीको विषयलाई लिएर नेपालमा वहस भएको या हुने गरेको सायदै होला । भएका वहसहरु पनि प्रवाभाकारी ढंगले भएका छैनन । हरेक महिना हुने रजस्वलाको विषयमा वर्षमा एक पटक सम्मेलन गरेर गरिने वहसले कस्तो प्रभाव पार्छ र ? यस्तो विषयमा हरेक दिन वहस हुनुपर्छ । घरघरमा, स्कुलमा, समुहमा ।
५) महिनावारीको बारेमा सम्पूर्ण जनतामाझ जानकारी पुर्याइ, महिनावारीको समयमा गरिने गल्तीहरूबाट हुने क्षति जस्तै, मृत्यु हुने वा डरलाग्दो रोगहरूको शिकार हुने जस्ता कुराहरूलाई न्यूनीकरण गर्न सरकारले के कस्ता नीति,कार्यक्रमहरु ल्याउनुपर्ला ?
रजस्वला हुनु अछुत हुनु होइन भनेर जबसम्म गाउँदेखि शहरसम्म चेतनाको विकाश हुँदैन, महिलाहरू यसबाट पर्ने नकारात्मक प्रभावको भागिदार भइरहनु पर्छ । तथापी महिनावारीको कारण लाग्ने रोगबाट महिलाहरूलाई सुरक्षित गर्न सरकारले सार्वजनिक स्थानहरुमा सेनेटरि प्याडको व्यवस्था गर्ने, सार्वजनिक स्थानहरूमा अपाङ्गमैत्री महिला शौचालयको व्यवस्था गर्ने । जनस्तर (गाउँदेखि सहरसम्म)मा चेतना पुर्याउनको निम्ति नाटक, गीत, प्रशिक्षण जस्ता अन्य कार्यक्रम मार्फत जनचेतना जगाउने, पाठ्यपुस्तक परिमार्जन गर्ने, स्वास्थ्य चौकीहरुमा रजस्वला सम्बन्धी मासिक रुपमा स्वास्थ्यकर्मीद्वारा प्रशिक्षण सञ्चालन गर्ने जस्ता नीति तथा कार्यक्रमहरु ल्यानु पर्छ ।
५ ) महिनावारीसँग सम्बन्धित विषयको बहस कार्यक्रममा सरकारको भूमिका कस्तो रहेको छ ?
– महिनावारीसँग सम्बन्धित विषय र वहसमा सरकारको भूमिका प्रभावकारी मान सकिँदैन । विद्यालयमा पढाइने स्वास्थ्य शिक्षा र अन्य पाठ्यपुस्तकमा यस सम्बन्धी विषयलाई प्रभावकारी ढंगबाट समावेश गरिनुपर्छ । गाउँगाउँमा भएका सरकारी अस्पताल र स्वास्थ्य चौकीलाई यस्ता कार्यक्रम सञ्चालन गर्नका निम्ति केन्द्र सरकार तथा स्थानीय सरकारले छुट्टै बजेट पारित गर्नुपर्छ ।
