
सिर्जना विनाको जीवन र सुवास विनाको फूल उस्तै हो । कागजको फूलमा सुवास हुँदैन । प्रेम भाव र गहिराइको सतह यसमा पटक्कै पाइँदैन । बास्नाले भरिएका सुन्दर फूल र मन छुने गीतहरू मलाई सिर्जना सँग तुलना गर्न मन लाग्छ । असल गीतहरूले मानिसको मनलाई छुन्छ र लोभ्याउँछ । वास्तविक फूलले आँखालाई लोभ्याउँछ र आनन्द प्रदान गर्छ । पगाल्न सक्नु यिनीहरूको धर्म हो । जसरी पनि पगालेर छोड्छ । यस्ता तरङ्गले भरिएका रसिला, भरिला र आकर्षिला तत्वले मनलाई पगालेर आनन्द प्रदान गर्ने शक्तिलाई गीत भनिन्छ । असल गीतहरू मुटुको भेट्नामा गएर बस्छन् र सधैँ—सधैँ मनलाई पगालेर भावनाको देशमा सदा सर्वदा राज गर्छन् ।
कर्णप्रिय र मन छुने गीतले मानिसका पिर व्यथा, वेदना र पीडालाई दूर गराउँछ । असल गीतले सधैँ मानिसको मन र मुटुसँग नाता जोड्छ । उकाली ओराली भञ्ज्याङ्ग चौतारी जताततै स्वतःस्फुर्त रुपमा सुवास फैलाउँदै माटोसँग माया गाँस्छ । हिमाल, पहाड,र तराईका जस्तोसुकै भूगोलमा पनि यस्ता गीतहरू तरंङ्गीत भैरहन्छन् । मानवका लागी मात्र होइन यस्ता गीतहरूले सम्पूर्ण प्राणी जगतलाई नै अल्हादित तुल्याउँछन् । उदासी मनमा उमङ्गको सञ्चार भरेर छमछमी नचाउँछन् भने निदाएको मान्छेलाई ब्युँझाउँछन् र कर्मशील बनाउँछन् यो नै गीतको धर्म हो ।
गीत सङ्गीत भनेको भोजन अनुसारको स्वाद र समय अनुसारको राग हो । दुःख सुखमा सहभागी भई हर्षमा उत्साह भरिदिने गीत भित्र संसार छ । यसले समय, परिस्थिति, वातावरण र परिवेश अनुसार आफूलाई प्रस्तुत गर्दछ । मानिस फरक होलान् तथापि ग्रहनगर्ने मन एउटै हो । भाषा फरक होलान् तर स्वीकार गर्ने पन एउटै हो । सीप, शैली र लय फरक होलान् त्यसको मर्म र मिठास दिने बस्तु एउटै हो । जुनसुकै जाती, भाषा,धर्म र संस्कृतिका मानिसहरू नै किन नहुन् हेर्ने आँखा एउटै हो ।
गीतसङ्गीत तरल बस्तु हो । यसले आफ्नो आकार आफै लिन्छ । जस्तो ठाउँमा पनि सजिलै पस्न र बस्न सक्ने गीत सगीतलाई आलिसान महलको जरुरत पर्दैन । चोखो र पवित्र मनले ग्रहण गरिदिए पुग्छ । खुला दिलमा प्रफुल्लित हुँदै स्वतन्त्रताको उडान भर्ने गीतभित्र मधुरसको स्वाद हुन्छ । जसलाई हृदयले रसस्वादन गरिरहेको हुन्छ । नत आसनमा फरक छ नत शासनमा फरक छ । सानो, ठुलो, धनी ,गरिब सबैलाई समान आदर भाव प्रकट गर्ने गीत सङ्गीत मानव जीवनका लागी एउटा सुन्दर बगैँचा हो । जुन बगैँचामा लाखौँ थरीका फूलहरू गीत सङ्गीत जस्तै फुलिरहेका हुन्छन् र सुवास छरिरहेका हुन्छन् । यिनै गीतहरूभित्र हाम्रा पहिचान र चिनारी लुकेका हुन्छन् ।
हाम्रा गाउँघर रस्तीबस्ती र कुना कन्दरामा लुकेर बसेका गीत सङ्गीतलाई अझै हामीले खोजी गर्न सकिरहेका छैनौँ । सयौँ लोक भाका र लोक सुसेलीहरू अहिले पनि उठ्न सकिरहेको अवस्थामा छैनन् । कला र गलाको धनी यो हाम्रो मूलुकमा ईश्वरीय अनुकम्पाको खानी सर्वत्र छ । यो शक्तिलाइ सबैसामु प्रस्तुत गर्ने हो भने हाम्रो आन्तरिक र बाह्य पर्यटन दुबैलाई अझ ठुलो टेवा पुग्नगै हाम्रो संस्कृतिको धरोहर अझै माथि चुलिने कुरामा दुई मत छैन ।
हाम्रा संस्कार र संस्कृतिले हाम्रा अतिथि हरूको मनलाई लोभ्याउन सक्नुपर्छ । रीतिरिवाज कलाकौशल, भाषा, धर्म, चाडबाड समेटिएका गीतसङ्गीतले उनीहरूको मनलाई पगाल्न सक्नुपर्छ । हाम्रा प्राकृतिक सम्पदाहरू आफैमा गीत बनेर पोखिएका छन् । चाँदीजस्तै टल्किने हिमाल र हिमाली पाखामा रातै फुलेका लालीगुराँस हेरेर रमाउने हाम्रो मन ताल र झरना हेरेर त्यसै मन्त्रमुग्ध हुन्छ । हाम्रा पाहुनाहरू पनि यसैमा रमाउँछन् । डाँफे मुनाल र मयूरको नाच देखेर नरमाउने मन कसको पो होला र ? कलकल बग्ने नदीनाला, हरिया वन जङ्गल भित्र खेल्ने हात्ती, गैँडा, कस्तुरी, मृग र त्यसै भित्र रहेका विचित्र जनावर र जडीबुटी , यी सारा हाम्रा गीत हुन् । हाम्रा लोक बाजासँगै रमाएको हाम्रो पन आफ्नै छ, मन आफ्नै छ । खानपान रहनसहन मिठो बोली बचन आदिले पनि हामी अतिथिलाई सजिलै स्वागत गर्न सक्छौँ । यी सबै यथार्थ परक कुराहरू हाम्रा गीत सङ्गीत भित्र समेटिएका छन् । हाम्रा हरेक ठाउँहरू पर्यटकलाई लोभ्याउने किसिमका छन् । हर्ष र उमङ्गले हामी पर्यटकलाई अतिथि देवो भवः मानेर सम्मान गर्न सकिरहेका छौँ । हामी नेपाली हुनुको गर्ब यसैमा छ । यही शैली र संस्कारको माध्यमले हामीले हाम्रो देशको पहिचानलाई विश्वसामु सजिलै सुपरिचित गराउन सकेका छौँ ।
नेपालमा विध्वंसकारी भूकम्पको आलो घाउ सुक्न नपाउँदै एकपछि अर्को संकट देखा प¥यो ।
कोभिड महामारीको खतरनाक सिकार बन्नु पर्दा हामीले पर्यटन वर्ष २०२० मनाउन समेत पाएनौ । पर्यटन व्यवसाय पनि धरापमा प¥यो जसले गर्दा पर्यटकीय क्षेत्रमा ठुलै सङ्कट आइलाग्यो । यसकै कारण हाम्रा देशी विदेशी पाहुनाहरू मन खुम्च्याएर आफ्नै थात थलोमा बस्न रहन बाध्य भए । आयस्रोतमा देखा परेको गडबडीले गर्दा हाम्रा कैयौँ पर्यटक व्यवसायीहरू बिस्थापित नै भए । देशको राष्ट्रिय अर्थतन्त्र तहसनहस बन्न पुग्यो । कोभिड १९ ओरालो लाग्दा नलाग्दै अहिले फेरी कोभिड स्वरूप परिवर्तन गरेर विश्व रङ्गमञ्चमा दोस्रो रूप देखाइरहेको छ । जसको कारण हाम्रो पर्यटन व्यवसाय पनि धरापमा छ ।
देशको शासन व्यवस्थाले नयाँ रूप धारण गरेजस्तै हाम्रा पर्यटक हरूका लागि हामीले पनि नयाँ नयाँ शैली र सोचको विकास गराउन सक्नुपर्छ । समयलाई चिनेर गरिने सम्मान, सद्भाव र सत्कारले गाँसिएको पे्रमभाव समुद्र भन्दा गहिरो र सगरमाथा भन्दा उँचो हुन्छ । हाम्रा अतिथिहरूको आतिथ्यले यसैमा पूर्णता प्राप्त गर्छ । गीत सर्जकहरूले पनि यस्ता भावनाहरूलाई समेट्न सक्नु पर्छ ।
छाडा र छिचिमिरे आयु भएका गीतहरूले हाम्रो अस्तित्वलाई नै समाप्त पारिदिन्छन् । । त्यस्ता क्षणिक र अर्थहीन गीतले हाम्रो पहिचान बिगारिदिन बेर लाउँदैनन् । यर्थाथको धरातलमा टेकेर भावनाको खेती गर्ने सर्जकहरूलाई राज्यले प्रोत्साहन र उत्साह प्रदान गर्न सक्नुपर्छ । उनीहरूको भावनामा चोट पर्न कदापि दिनु हँुदैन । गीतसङ्गीत र पर्यटक बिचको हाम्रो नाता सदियौँदेखि अजर र अमर भएर रहेको छ । हाम्रा यी खुसीका पलहरू वर्णन गरेर नत कहिल्यै सकिन्छन्, नत गीत नै गाएर सकिन्छन् । रोधी, झ्याउरे, मारुनी, लैबरी, बालुन र खैँजडी जस्ता गीत सङ्गीत र भजनहरू हाम्रा मौलिक सम्पत्ति हुन् । पर्व बिशेषमा आउने र गाउने देउसी, भैलो,तीज, उँधौली, उँभौली र धाननाच जस्ता पर्वहरूले हाम्रा पर्यटकहरूका लागि राम्रो आकर्षण बढाएको छ । हामी यसै गरी कला, साहित्य र संस्कृतिको जगेर्ना गर्दै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनको विकासमा अगाडि बढ्न सिकौँ यसैमा हाम्रो कल्याण छ । भोलिका सन्ततिहरूका लागी पनि यो एउटा सही पहिचान, असल कर्म र सुरक्षित भविष्य बनेर रहनेछ ।
