असार १ गतेदेखि वीरगञ्जमा विद्यालय सञ्चालन गरिने

वीरगञ्ज :वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय खोल्ने निर्णय गरेको छ । महानगरपालिकाले असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्न लागेको हो ।

बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै क्रमिकरुपमा विद्यालय सञ्चालन गर्न लागिएको महानगरपालिकाको तर्क छ ।

शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पत्राचार गर्दै असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वान गरेका छन् ।

विद्यालय सञ्चालन गर्न ७ वटा शर्तहरु पालना गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ । विद्यालयमा भौतिक उपस्थिति गराई पठनपाठन गर्न विद्यार्थीहरुको अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु (मास्क, साबुन, पानीले हात धुने व्यवस्था, सेनिटाइजर भौतिक दुरी, थर्मल गनले ज्वरो नाप्ने आदि) अनिवार्य पालना गर्नु पर्नेछ ।

यस्तै, अर्को सूचना जारी नहुञ्जेल सवारी साधन सञ्चालन गर्न नपाइने, शिक्षण सिकाइका वैकल्पिक उपायहरु विद्यालय र अभिभावकबीच सहमति गरी लागु गर्ने, असार १ गतेदेखि ७ गतेसम्म भर्नालगायतका व्यवस्थापकीय कार्य गर्ने गराउने, असार ८ गतेदेखि १५ गतेसम्म भर्ना सप्ताहअन्र्तगत घरदैलो कार्यक्रम सञ्चालन गर्ने, असार १५ गते पश्चात नियमति रुपले पठनपाठन सुरु गर्ने गराउने र कुनैपनि विषम स्थिति देखिनासाथ शैक्षिक प्रशासन महाशाखामा जानकारी गराइ निर्देशनअनुसार गर्ने गराउने पत्रमा उल्लेख छ ।

वीरगञ्ज महानगरमा निजी र संस्थागत गरी २०० हाराहारीमा विद्यालय छन् । नगर प्रमुख विजयकुमार सरावगीले कोरोना संक्रमण घट्दै गएकोले विद्यालय सञ्चालन गर्ने निर्णय भएको बताए ।

‘आइतबारदेखि नै स्कुल खोलेर सरसफाइ गर्ने, नतिजा निकाल्ने काम गर्न भनेका छौं । विद्यार्थी भर्नासँगै कक्षा सञ्चालनको काम क्रमशः गर्दै जाने नगर स्तरीय शिक्षा समितिको बैठकबाट निर्णय भएको छ,’ उनले भने, ‘परिस्थिति अनुसार आवश्यक निर्णयहरु गर्दै जान्छौं ।’