दक्षिण कोरियाबाट विविध स्वास्थ्य सामग्री प्राप्त

काठमाडौं :कोभिड–१९ महामारीविरुद्ध जुधिरहेको नेपाल सरकारलाई दक्षिण कोरियाबाट सहायतास्वरुप विविध स्वास्थ्य उपकरण प्राप्त भएका छन् ।

नेपालका लागि कोरियाका राजदूत पार्क चोङसुकले १७ हजार ७६० थान आरटी पीसीआर परीक्षण किट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेललाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोरिया सरकारले तीनसय ७८ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको र ती उपकरण आउँदो महिना काठमाडौं ल्याइने मन्त्रालयले बताएको छ । दोस्रो लहरको कोभिड–१९ महामारीविरुद्धको लडाइँमा डटेको नेपालप्रति ऐक्यबद्धता जनाउँदै महत्त्वपूर्ण स्वास्थ्य उपकरण प्रदान गरेकामा सरकारले गणतन्त्र कोरिया सरकारमा कृतज्ञता ज्ञापन गरेको छ ।