
काठमाडौ :काठमाडौको शङ्खरापुर नगरपालिकाले अनलाइन विधिबाट कक्षा आठको परीक्षा सुरु गरेको छ । आउँदो २५ गते सम्पन्न गर्ने गरी अनलाइन विधिबाट परीक्षा सुरु गरिएको नगरपालिकाका शिक्षा शाखा संयोजक बौद्धराज निरौलाले जानकारी दिए।
आज दुई वटा विषयको परीक्षा सम्पन्न गरेको र परीक्षामा ९१ प्रतिशत विद्यार्थी सहभागी भएका निरौलाले जानकारी र्दिए । छुटेका विद्यार्थीहरूका लागि पनि अनलाइन वा सम्भव नभएमा अरू विधिबाट सहभागी गराउने उनले बताए।
नगरपालिकालको शिक्षा शाखाबाटै नियन्त्रण हुने गरी अनलाइन प्रविधिबाट विद्यार्थीहरूलाई जोडेर प्रश्न पठाउने र तोकिएको समयभित्र उत्तर पठाइ सक्नुपर्ने व्यवस्था गरिएको छ । प्रयोगात्मक नम्बर सम्बन्धित विद्यालयले पठाउने र प्रयोगात्मकबाहेकको पूर्णाङ्कलाई एक सय मानेर त्यसको ५० प्रतिशतका लागि नगरपालिकाले अनलाइन परीक्षा लिएको हो । ५० प्रतिशत भने विद्यालयले यसअघि लिएको पहिलो र दोस्रो त्रैमासिक परीक्षाको प्राप्ताङ्कको आधारमा नम्बर उपलब्ध गराउने व्यवस्था गरेको शिक्षा शाखा प्रमुख निरौलाले बताए ।
शङ्खरापुर नगरपालिकामा रहेका २१ वटा विद्यालयमा गरी कक्षा आठमा अध्ययन गर्ने चार सय ७० जना विद्यार्थी छन् । नगरपालिकाको शिक्षा शाखाबाटै अनलाइन पद्धतिबाट जिल्लास्तरीय परीक्षा लिने आफ्नो नगरपालिका पहिलो भएको भन्दै प्रमुख निरौलाले परीक्षामा विद्यार्थीको सहभागिता र हौसलाले आफू उत्साहित भएको बताए।
