नेपालले चाइनिज ताइपेईलाई २-० गोलले पराजित : अन्जन विष्ट र नवयुग श्रेष्ठद्धारा गोल

काजिराम अधिकारी,
धादिङ्ग : फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइ माथि सहज जित दर्ता गरेको छ । अन्जन विष्ट र नवयुग श्रेष्ठको गोलमा नेपालले २-० को जित दर्ता गरेको हो ।

नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा अन्जन विष्टले गोल गर्दै नेपाल अघि बढेको हो । सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

अन्जनको यो जारी विश्वकप छनोटमा तेस्रो गोल हो ।
खेलको ८० औं मिनेटमा मनिष डाँगीले एकल प्रयासमा बल अघि बढाएर गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । त्यसको एक मिनेट नबित्दै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले नेपालको अग्रता दोब्बर पारे ।

अन्जन विष्टको पासमा सुमन अर्यालले पेनाल्टी क्षेत्र भित्रबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमा नै गोलमा परिणत गर्दै नेपाललाई २-० ले अघि बढाएका थिए ।
यस जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ । नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ । नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक रहेको छ ।

जितविहिन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन ।
अष्ट्रेलियाले ४ खेलमा १२ अंक जोड्दा जोर्डन र कुवेतको ५-५ खेलमा समान १०-१० अंक रहेको छ । आज हुने दोस्रो खेलमा अष्ट्रेलिया र कुवेतले प्रतिस्पर्धा गर्दैछन् ।
नेपालले अर्को खेल यहि जुन ७ मा जोर्डन संग खेल्नेछ ।