
धनु गिरी
रुपन्देही:रुपन्देहीको तिलोत्तमा नगरपालिका २ स्थित जागृति युवा क्लबले चुल्हो ननिभ्ने अभियान स्वरुप राहत बितरण कार्य सुचारु गरिरहेको छ। जागृति युवा क्लब शंकरनगरले अति विपन्न परिवारलाई राहत वितरण अभियान नै चलाएको छ । तिलोत्तमाका विभिन्न वडामा रहेका दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने परिवारलाई सोमबारदेखि राहत वितरण गरिएको क्लबका अध्यक्ष विदुर के.सी.ले बताए ।
प्रति परिवार २० किलो चामलका साथ दाल, नुन, तेल, सोयाबिन, बेसार, साबुन लगायतका खाद्य सामग्री वितरण गरिरहेको क्लबले कोभिड १९ का कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग समेत गरेको अध्यक्ष के.सी.ले बताए । जागृति युवा जनस्तर आकस्मिक कोभिड विपद व्यवस्थापन कोष स्थापना गरि देश तथा विदेशमा रहेका विभिन्न दाताहरूले पठाएको सहयोग रकमबाट राहत वितरण गरेको क्लबका उपाध्यक्ष भिमलाल पौडेलले जानकारी दिए । पौडेलले सहयोग गर्न इच्छुकदाताहरुलाई क्लबको माध्यमबाट जोडिन आफुहरुले आग्रह गरिरहेको बताए ।
त्यस्तै कमजोर आर्थिक स्थितिका परिवार हेरेर खाना पकाउने ग्यास सिलिन्डर समेत प्रदान गरेको क्लबका कोषाध्यक्ष रामु खनालले जनाए । यो विपदको घडीमा क्लबले सहयोगदाता र पीडितको बिचमा पुलको काम गर्ने कोशिस गरेका छौँ खनालले भने ।
क्लब निशेधाज्ञाको सुरुदेखि नै तिलोत्तमाको अस्थायी कोरोना अस्पताल र समाजमा अक्सिजन खाना र फलफुल व्यवस्थापनमा समेत निकै सक्रिय रहँदै आइरहेको छ। आइशोलेसनमा रहेका बिरामीको मनोबल उच्च राख्ने उद्देश्यले खाजा खाना फलफूल लगायतका खाद्य सामग्री समेत क्लबको अगुवाइमा वितरण भइरहेको क्लबका अध्यक्ष बिदुर के.सी.ले बताए ।
स्थापना कालदेखि नै स्थानीय युवाहरूको सक्रिय समुहले सञ्चालन गरिरहेको यो क्लबले विभिन्न समय परिस्थितिमा सामाजिक गतिविधि गर्दै अघि बढिरहेको प्रति तिलोत्तमा-२ का वडाध्यक्ष दधिराम गौतमले समेत प्रशंसा गरेका छन् । वडाअध्यक्ष गौतमले क्लबको सामाजिक अभियानमा आफ्नो साथ र समर्थन सधै रहने प्रतिबद्धता जनाउदै क्लबको रचनात्मक कार्यमा सहकार्य गर्ने समेत बताए ।
